महोत्तरी,५ मंसिर ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नो थुनुवा कक्षमा पुस्तकालय संचालनमा ल्याएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी जनक भट्टराईले सो पुस्तकालयको उदघाटन गरेपछि संचालनमा आएको हो ।
मंगलवार पुस्तकालयको उदघाटन गर्दै डिआईजी भट्टराईले यसले थुनुवा कक्षमा विभिन्न अनुसन्धानका लागि ल्याइने आरोपीहरुलाई खाली समय थोरै ज्ञान आर्जन गर्न सहयोग पुग्ने बताए । उनले जिल्ला स्थित अन्य थुनुवा राख्ने ईलाकाहरुमा समेत यस्ता पुस्तकालय राख्न मिल्ने भएकोमा त्यसको लागि समेत समन्वय भैरहेको बताए ।
यता पुस्तकको अध्ययनले विभिन्न नकारात्मकतालाई सकारात्मकता तर्फ परिवर्ततित गर्न सहयोग पुग्ने भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले पुस्तकले जिवन सिंगार्ने बताए । उनले विभिन्न कारणले अपराधमा लागेका व्यक्तिहरु समेत पुस्तक अध्ययनले शुमार्गमा लागेको विभिन्न उदाहरणहरु रहेका बेला पुस्तक अध्ययन जिवनोपयोगी भएको बताए । उनले प्रहरी कार्यालमा विस्तारै अन्य सेवाग्राहीहरुलाई समेत पुस्तक अध्ययन गर्न लाईब्रेरीको व्यवस्थापन गर्न लागिएको थपे ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनुवा कक्षमा हाल ३९० थान विभिन्न पुस्तकहरु अध्ययनको लागि राखिएका छन । उक्त पुस्तक जलेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वरुण दाहालले उपलब्ध गराईदिएका छन भने वडा नं. ६ का वडाअध्यक्ष रविन्द्र साहले पुस्तक राख्न तिन थान दराज सहयोग गरेका छन ।
यता जलेश्वर कारागारमा कैदीबन्दीहरुको लागि साविक देखि नै पुस्तकालय संचालनमा रहेको छ ।