
रञ्जन भण्डारी
महोत्तरी, २९ कार्तिक ।
महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ८ रतवारा स्थित भुवनेश्वर चौधरीको घरमा उनी सहित परिवारका सदस्यहरुलाई गत कार्तिक १९ गते मध्यरात घाईते बनाई लाखौको लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. २ निवासी ३५ वर्षिय शक्ति कुमार पासमान र सोहि ठाउ निवासी ३२ वर्षिय अजय पासमानलाई रौतहटको गरुडा नगरपालिका ४ पानी टंकी नजिकबाट लुकिछिपी बसेको अवस्थामा मंगलवार साझ पक्राउ गरेको हो ।


मंगलवार अपरान्ह ३ बजे पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याउदै गर्दा राती करिव १० बजे महोत्तरीको सोनमा गाउपालिका वडा नं. ५ खैरबनीमा प्रहरीले सवारी परिवर्तन गर्दै गर्दा प्रहरी नियन्त्रणबाट उनीहरु भाग्न खोजेपछि प्रहरीले पुनः नियन्त्रणमा लिन दश राउण्ड गोली चलाएको हो । सो गोलीवारीमा आरोपीहरु घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएका हुन । आरोपी अजयलाई बायाँ तिघ्रामा एक गोली र शक्तिकुमारलाई बाया र दाया तिघ्रामा एक एक गोली लागेको हो । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले बताए ।
उनले आरोपितहरु कुख्यात डाँका रहेको र नेपालमै करिव एक दर्जन मुद्दा दर्ता रहेको तथा भारतमै समेत अनेकौ मुद्दामा उनीहरु फरार रहेको बुझिन आएको बताउदै डिएसपी गिरीले हालै महोत्तरीमा भएका विभिन्न लुटपाटका घटनामा उनीहरुको गिरोहको संलग्नता देखिएकोमा प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई फेला पारी महोत्तरी ल्याउने क्रममा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा गोली चलाउनु परेको बताए ।
यता प्रहरी नियन्त्रणबाट उनीहरु भाग्न खोज्दा समात्ने क्रममा दुईजना प्रहरी समेत सामान्य घाईते भएका छन । घाइते प्रहरीहरु सहायक हवल्दार संजय जयसवाल र प्रहरी जवान श्याम किशोर गिरी रहेको प्रवक्ता डिएसपी गिरीले बताए ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले आरोपीहरुसंगै लुटपाटमा संलग्न थप व्यक्तिहरुको समेत पहिचान भैसकेको र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास भैरहेको बताए । उनले पक्राउ परेका आरोपीको गिरोह विभिन्न ठुला लुटपाट र ज्यान मार्ने मुद्दामा समेत आरोपी रहेको बताए । उनीहरुको साथबाट एकथान नलकटुवा पेस्तोल र सो मा लाग्ने ४ थान गोली समेत प्रहरीले बरामद गरेको छ । घाईते डाँका आरोपीहरुलाई मंगलवार राती १०ः३० मा प्रादेशिक अस्पताल ल्याइएको हो ।
आरोपीहरु नेपालमा कुख्यात छन ः
प्रहरीले डाँका आरोपमा पक्राउ गरेका अजय र शक्ति दुईजना नै नेपालमा कुख्यात रहेको प्रहरीको भनाई छ । डिएसपी गिरीले उनीहरुमाथि विभिन्न ११ स्थानामा चोरी,खुन डाँका गरेको अभियोग रेहेको बताए । शक्ति कुमार(बोलाउने नाम शक्ति कपुर) माथि २०७१ सालमा बारा जिल्लामा ज्याने मार्ने उद्योग र चोरी डाँका सम्बन्धी मुद्दा दर्ता छ । त्यसतै २०५९ सालमा जवरजस्ती करणको मुद्दा समेत उनीमाथि छ । सोहि मुद्दामा उनी फरार रहदै आएका छन । यता २०७१ सालमा सिन्धुली जिल्लामा समेत उनीमाथि डाँका र कर्तव्य ज्यान मुद्दा दर्ता छ । यता २०६० सालमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा डाँका,२०७१ सालमा ईलाका प्रहरी कार्यालय सिमरामा डाँका,२०७५ सालमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अभद्र व्यवहार,२०७५ सालमा जिल्ला प्रहरी कार्यालयमै डाँकाका दुई घटनाको मुद्दा दर्ता रहेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
त्यसतै अर्का आरोपी अजयमाथि २०७३ सालमा जिल्ला प्रहरी कार्यालय सिरहामा डाँका मुद्दा दर्ता छ ।
दुईजना आरोपीहालसम्म विभिन्न शक्तिकै आडमा प्रहरी नियन्त्रण वाहिर रहदै आएका थिए ।
भारतमै समेत मोस्ट वान्टेड ः
पक्राउ परेका आरोपीहरु नेपालमा मात्र नभई भारतमै समेत आफ्नो आपराधिक कृयाकलापले भारतिय सुरक्षाकर्मीको मोस्टवान्टेड लिस्टमा छन । उनीहरुले सन २०२३ मा मात्रै भारतका विभिन्न स्थानमा विभिन्न डाँका सहितका आपराधिक घटना घटाएका गिरोहमा संलग्न रहेको भारतिय संचारकर्मीहरुले जानकारी गराएका छन । उनीहरुले सन २०२३ मा मधुबनी जिल्लाको मधवापुर थाना क्षेत्र स्थित रामपुरमा १८ अगस्त २०२३ मा पुर्व पैक्स अध्यक्ष भागीरथ झाको घरमा गरगहना सहित एकलाख पचास हजार भारतिय रुपया समेत लुटपाटमा संलग्न भएको आरोप छ । यता २१ मार्च २०२३ मा मधुबनी जिल्लाकै साहरघाट थाना क्षेत्र को मुखियापट्टी गाउमा हथियार सहित ठुलो डाँकाको घटना भएकोमा सो घटनामा समेत यि दुई आरोपी मुछिएका छन । उनीहरुले सोना व्यवसायी विरेन्द्र ठाकुर उर्फ नारदजी,उनका भाई अशोक ठाकुर र छिमेकी शिक्षक शत्रुघ्न झा को घरमा भारतिय रुपया २६ लाख सहित गरगहना समेत लुटपाट गरेका थिए । सोहि घटनामा करिव एक दर्जन लोकल बम समेत प्रहार गरिएको थियो । उक्त घटनामा एक स्थानिय र केहि डाँकाहरुलाई भारतकै फुलपरास र सितामढीबाट पक्राउ गरेका थिए भने दुई नेपाली डाँका आरोपितलाई एन्काउन्टर गरेको भारतिय संचारकर्मीले जनाएका छन ।
यता ८ अक्टुवर २०२३ मा समेत साहरघाट कै साहरघाट बजार क्षेत्रको नेताजी चौकमा रहेको औषधी र कपडा व्यवसायी राजकुमार गामीको घरमा नगद र गरगहना लुटपाट गरि परिवारका सदस्यहरुलाई धारिलो हतियार प्रयोग गरि घाईते समेत बनाएको घटनामा समेत उनीहरुकै समेत संलग्नता रहेको बुझिएको छ । यसै घटनामा समेत लोकल बम प्रहार गरिएको थियो ।