
महोत्तरी, २८ असोज ।
आइमिन परियोजना अन्तगर्तत संचालित असल अभ्यासका बारेमा जानकारी दिने उदेश्यका साथ संचालित कार्यक्रममा जिल्लाका अन्य पालिकाहरुसंग चर्चा गरिएको छ । पिपरा गाउपालिका स्थित सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई गणित विषयमा जिज्ञासु बनाउन र गणित विषय प्रति रुचि जगाउन विगत तिन वर्ष देखि संचालनमा रहेको सो कार्यक्रम सफल भएपछि जिल्लाका अन्य पालिकाहरुले समेत सिको गर्न सक्ने भन्ने उदेश्यका साथ संचालित कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रम संचालन र त्यसको परिणाम लगायतका विषयमा जानकारी गराउदै अन्य पालिकाहरुले समेत सो लागु गर्न सक्ने बताइएको थियो । शिक्षा बिकास तथा समन्वय इकाइको आयोजना तथा जाइका आइमिन परियोजनाको सहयोगमा पिपरा गाउँपालिका भित्रका सामुदायीक विद्यालय तथा धार्मिक (मदरसा) बिध्यालय हरुमा आइमिन परियोजना अन्तर्गत सन्चालित कार्यक्रमहरु र असल अभ्यासहरुका बारेमा जानकारी दिन जिल्ला स्थित सवै पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई डाकिएको थियो ।
कुनै बेला देशकै विभिन्न स्थानमा पुगि मधेशका शिक्षकले गणित लगायतका विषय पढाएर देशलाई नै शिक्षित गर्ने गरेको र सो बेला मधेशका शिक्षकहरुको देशैभर नाम चल्ने गरेकोमा विस्तारै मधेशमा गणित विषय प्रति विद्यार्थीहरुमा अभिरुची घटदै गएको देखिएपछि पुनः गणित विषय वारे जिज्ञासु बनाउन जाइकाले पिपरा गाउपालिकाको सहयोगमा कार्यक्रम चलाएको थियो ।
जिल्ला स्थित अन्य पालिकाका सामुदायिक बिध्यालयहरुले पनि सो कार्यक्रमको अनुसरण गर्ने गरि गणित विषयसंग सम्बन्धित परियोजनाले तयार पारेको विभिन्न प्राविधिक पाटोबारे जानकारी गराइएको हो । कार्यक्रम मा १५ वटा पालिका मध्ये ९ पालिकाबाट सहभागिता जनाइएको थियो ।
शिक्षा बिकास तथा समन्वय इकाइका निमत्त प्रमुख राजदेव यादब, अधिकृत प्रतिभा कुमारी साह, पाठ्याक्रम बिकास केन्द्रका अधिकृत रितु श्रेठ र पिपरा गाउपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले सहजीकरण गरेको सो कार्यक्रममा पिपरा गाउपालिकामा संचालन भएको कार्यक्रममा सिकाइएको असल पठन पाठनको तरिका आफ्नो पालिका स्थित विद्यालयहरुमा समेत उतार्न वक्ताहरुले आग्रह गरका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख सुमन कुमार लाल कर्णले परियोजनाले गरेका राम्रा कामको अनुसरण गरि परियोजनाबाट उपलब्ध गराइएको सामग्रीहरुको उचित प्रयोग गरि सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न आग्रह गरे । त्यसतै कार्यक्रमा उपस्थित भएकि जाइका आइमिन परियोजनाका बिज्ञ श्री मेगुमी सियातोले यो कार्यक्रम सवै विद्यालयमा आवश्यक रहेको र यसले राम्रो प्रतिफल दिने बताइन । कार्यक्रम सन्चालन जाइका आइमिन परियोजना का जिल्ला परियोजना अधिकृत बिनय बाबू ढकालले गरेका थिए ।