
रञ्जन भण्डारी
म सानै थिए । साविकको जलेश्वर नगरपालिका वडा नं. ५ (हालको वडा नं. २) स्थित भार्गेश्वर कुट्टीमा हजुरबुवाले खेतको काम गर्न जाँदा मलाई पनिसंगै लग्नु हुन्थ्यो । स्कुल बाहेकका दिनहरुमा वा प्राय स्कुल भन्दा पहिले र पछिको समय मेरो हजुरबुवासंगै खेत र भार्गेश्वर कुट्टीमै बित्ने गरेको थियो । पहिले खेतहरु वढी भएपनि प्राय सवै खेतहरु शहरीकरण र सडक विस्तारको नाममा त्यती बेलै हामीसंग खोसिएको थियो । सो वापतको मुआवजा दिए दिएनन थाहा भएन । शहर विस्तारकै नाममा भार्गेश्वर नजिकैको खेत समेत सरकारले लिईसकेको थाहा पाएको थिए । तर हजुरबुवाले त्यो दिन मान्नु भएन मोहियानी खेत भएको मैले थाहा पाएको थिए । वर्तमानमा हामीले नै खेती गर्दै आएका छौ तर त्यो सरकारले लिइसकेको हो वा होईन भन्ने वारे म अनभिज्ञ छु । मैले कथा लेख्दै गर्दा जग्गाको विषयमा कथा मोडिए जस्तो छ । म मेरो भोर्गेश्वर कुट्टीसंग जोडिएको बालपन वारेमा विस्तारमा चर्चा गर्छु ।
हजुरबुवा सोहि बेला जिल्ला हुलाक कार्यालयमा पोष्टम्यानको रुपमा कार्यरत हुनु हुन्थ्यो । सायद उनको त्यती बेलाको पदलाई हलकारा भनिन्थ्यो । उनीसंगै काम गर्ने केहि मित्रहरु पनि थिए । जसमध्ये मैले एकजनालाई मात्र सम्झेको छु । उनलाई सम्झिनुको कारण भने गुलियो छ । उनीसंग प्राय मेरो भेट भार्गेश्वर कुट्टीमै हुने गरेको थियो र त्यो पनि त्यही कुट्टीको अगाडीमा रहेको सानो पोखरीको घाटमा ।
बिहानको समय हजुरबुवासंग म भार्गेश्वर कुट्टी पुग्दा त्यही पोखरीमा नुहाउने र त्यही कुट्टीमा एकछाक खाना खाने मेरो दिनचर्या थियो । म निक्कै सानो हुदा हजुरबुवाले मलाई काखीमै राखेर पोखरीमा नुहाईदिनु हुन्थ्यो । र नुहाएपछि त्यही उनका मित्र मेरो लागि बुनिया र स्यायु(गुलियो परिकार) लिएर पर्खिरहेका हुन्थे । हामी भेट भएको कुनै दिन थिएन जुन दिन उनले मलाई बुनिया खुवाएनन । यता कुट्टीमा खाना खाने रोमान्च पनि छुट्टै हुन्थ्यो । दाललाई बैकुण्ठी,तरकारीलाई साग अनि खै के के नामले महाराजी(बाबाजी)हरु भन्थे । मेरो रुची खानाको नामसंगै मिठो गरि पकाएको खानामा पनि हुन्थ्यो ।
मेलै हजुरबुवासंग बिताएको त्यही पल भार्गेश्वर कुट्टी र पोखरीबारे जान्ने समय थियो । पोखरीको घाटमा हजुरबुवासंग बसिरहदा उनले भार्गेश्वर कुट्टी र पोखरीबारे मलाई कथा सुनाउथे । एउटै कथा मैले पटक पटक सुनेको थिए । सोहि भएर अझै पनि कथाहरु भुलेको छैन ।
उनी भन्थे,भृगु ऋषी त्यही कुट्टीमा धेरै समय बसेका थिए । र पोखरीकै अगाडी रहेको भृगुऋषीको मुर्ति उनी त्यही ठाउमा समाधी लिएपछि बनाइएको थियो । सोहि बेला जलेश्वर पुण्य आत्मा भएका श्रेष्ठ साधुसन्तको बास स्थान हुने गरेको थियो । ठुला ठुला साधुसन्तहरु जलेश्वर क्षेत्रमा तपस्यामा लिन हुने गरेका थिए । जलेश्वर शान्त र दैव्यभुमि थियो । भृगुऋषीको आदेशले नै दैत्यले एकरातमै भार्गेश्वर को ठुलो पोखरी खनेका थिए । साझ खेत रहेको ठाउ बिहान बिशालकाय पोखरीमा परिणत भएको थियो ।
पोखरीको गहिराई त्यती बेला धेरै थियो । एक पटकमा पोखरी वारीपारी गर्ने हिम्मत त्यती बेलाका केहि दैव्यशक्ति भएका साधुहरुमा मात्र थियो । पछि सोहि पोखरीबाट एउटा सानो पोखरी साधुहरुलाई नुहाउनलाई छुट्याइएको थियो । हजुरबुवाको कथा अनुसार सोहि वेलाका तपस्वी साधुहरुको पुण्यफलले जलेश्वरमा कहिल्यै केहि अभाव भएको थिएन ।
म ठुलो हुदै गर्दा भृगुऋषीको प्रतिमाकै छेउमा रहेको रुखमा ओम भेटिएको थियो । साहुजीपट्टी निवासी विश्वेश्वर प्रसाद(राजा) अंकलले सो फेला पारेका थिए । भार्गेश्वरकुट्टीमा ओम निस्केको जानकारी पाएपछि म हतारिएर त्यो हेर्न गएको थिए । त्यती बेला सो ओमको निक्कै चर्चा भएको थियो । पछि त्यो रुख ढल्यो र ओमको अस्तित्व पनि ।
तर दैत्यले खनेको भनिएको त्यो ठुलो पोखरीको महत्व भने कहिल्यै कम भएन । ममा चेतना आएर म भार्गेश्वर कुट्टी जान थाले देखि मैले त्यो ठुलो पोखरीमा कमल फुलेको देख्ने गरेको थिए । हरेक वर्ष कमलको फुलले पोखरी ढकमक्क हुने गरेको थियो । कमल भने अझै त्यो पोखरीको निरन्तर फुल्दै छ । केहि वर्ष त्यो पोखरीमा कमलको फुलसंगै सिंंघाडा पनि फल्ने गरेको थियो । म सिंघाडा फलेको बेला त्यो टिपेर खुवै खाएको अझै सम्झेको छु । कुट्टीमै रहेको मनसरीको रुखबाट मनसरीको फल टिपेर खाएको स्मरण मेरो अझै ताजा छ । त्यही घीर्नीको बोटबाट पाकेको घिर्नीलाई घसेर त्यो घीर्नीलाई विभिन्न रंगमा रंगेर खेलेको भुल्नै सक्दिन । तर यि सवै याद अव पुरानो भैसकेको छ ।
मेरो बालपनमा मैले देखेको भार्गेश्वर पोखरी र कुट्टीको अस्तित्व वर्तमान समयमा संकटमा परेको तितो अनुभव छ । पोखरीलाई सौन्दर्यीकरणको नाममा झनै कुरुप बनाईदै गरेको आज देखेको छु । पोखरी र कुट्टीको मौलिकतामाथि संकट परेको छ । राजनितिकरण जलेश्वरमा हावी भएपछि कमिसनको चक्करमा पोखरीमा भएको निर्माणले पिडा थपेको छ । भए भरका रुख विरुवाहरु काटिएका छन । सायद बालुवा र सिमेन्टले पोखरीमा घाटरुपी बनाइएको संरचनाहरु निर्माण सम्पन्न पश्चात केहि सुन्दर देखिएलान तर त्यसले मौलिकता सखाप पार्ने निश्चित छ । पोखरीमा बनाएका घाटहरुको गुणस्तर जाच्ने आवश्यक्ता मैले महसुस गरेको छु । यता यस वर्षको प्रचण्ड गर्मीले पोखरीलाई पुर्ण रुपमा सुकाईदिएको छ । कमलका फुलहरु पोखरीमा अझै फुलेका भएपनि त्यो पानी विहिन छ । ठाउ ठाउमा माटो निकाल्न बनाएका खाडलहरुमा जमेको केहि पानीले थोरै फुलहरु बाचेका छन तर त्यो पनि कति दिन रह्ने हो भन्न सकिन्न ।
मैले मेरो बालपनमा देखेको भार्गेश्वर र अहिलेको भार्गेश्वरमा आकाश जमिनको फरक देखेको छु । त्यहा भएका सयौ रुखहरु काटिएर अहिले उजार भार्गेश्वर हेर्दा अफसोस हुदैछ । के थियो भार्गेश्वर र अहिले के भयो ?
भार्गेश्वरमा करोडौ रकम लगाएर सौन्दर्यीकरण गरिरहेको सरकारले जिर्ण भैसकेको मन्दिर बनाउने तर्फ अझै सोच बनाउन सकेको छैन । कुनै पनि बेला मन्दिरको गुम्बज झर्न सक्ने र ठुलो क्षति हुन सक्ने अवस्था आईपुग्दा त्यहा अझै मन्दिर बनाउने काटछाँट भने देखेको छैन । तथापी नेताहरुले विशाल मन्दिर बन्ने सपना भने अझै देखाउदैछन ।
केहि वर्ष पहिले सेभ जलेश्वरको पहल र शसस्त्र प्रहरीको सहयोगमा भार्गेश्वरको जिर्ण ईनार हामीले जिर्णोद्धार गर्न सकेका थियौ । पोखरीमै समेत सरसफाई र जिर्ण भैसकेका त्यहा बस्ने स्थानहरुका साथै मन्दिरमै समेत सामान्य मर्मत गर्न सकेका थियौ । तर त्यो भने अझै अपुग छ ।
भार्गेश्वर हाम्रो ऐतिहासिक र धार्मिक धरोहरको रुपमा रहेकोमा त्यहा अझै सवै सरोकारवालाको ध्यान पुग्नु जरुरी छ । भार्गेश्वर पोखरीमा फुलेको कमलकै फुलबाट कुट्टीले मनग्य आम्दानी गर्न सक्ने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन । न त कमलको सो पोखरीको प्रचार प्रसार नै हुन सकेको छ । दैत्यले एकरातमा खनेको पोखरी अहिले ओझेलमा छ । कुट्टी वरिपरीका मानव वस्तीले स्मसानघाटको रुपमा प्रयोग गर्दै आएको कुट्टीकै स्मसान घाट क्षेत्र अव्यवस्थित रहेको छ । त्यसकै उचित व्यवस्थापन वा स्थानान्तर वारे समेत चर्चा जरुरी देखिन्छ ।
भार्गेश्वरकुट्टी रमणिय पर्यटक स्थल र पार्कको रुपमा विस्तार गर्न सकिन्छ भने त्यहाको कमलको फुललाई देशव्यापी रुपमा प्रचार प्रसार गरेर सोहि स्थानको महत्व अझै बढाउन सकिन्छ । संरक्षणको लागि सवैमा आग्रह ।