रञ्जन भण्डारी
महोत्तरी ।
नेपालमा मतदाता हुन मतदाता परिचयपत्र अनिवार्य छ । मतदानको समय नागरिकता नहुनेले मतदाता नामावलीमा नाम भएको अवस्थामा अन्य परियच खुल्ने कागजात हेराएर मतदान गर्न पाउछन । तर त्यही मतदाता नामावलीमा नाम लेखाउन र परिचयपत्र पाउन भने नेपालको नागरिकता अनिवार्य छ । नागरिकता हुनेलेमात्र मतदाता नामावलीमा नाम लेखाउन पाउछ र गर्वका साथ देशको मतदाता हुने अधिकार प्राप्त गर्छ । तर नेपालमा लाखौ युवा यहि मतदाता नामावलीमा नाम लेखाउन नसकेर मतदान गर्नबाट बन्चित छन । उनीहरुको नागरिकता बन्न नसक्दा नेपाली भएर समेत मताधिकारबाट बन्चित हुनु परेको पिडा लाखौको छ । यस्तै पिडा भोग्दैछन महोत्तरीका अर्जुन साह र माधुरी पासमान जस्ता युवा पिढीले ।
नेपालको संविधानको धारा १२ मा “यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुवाको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने छ भन्ने व्यवस्था रहेको हुदा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सम्भव भए”पनि महोत्तरीका अर्जुन साह र माधुरी पासमानले अझै नागकिता पाउन सकेका छैनन । मतदाता हुन वा सरकारी तथा अन्य रोजगारी तथा शिक्षाकै लागि समेत नागरिकता आवश्यक पर्ने भएपनि आमाकै नामबाट नागरिकता पाउन नसकेका अर्जुन माधुरी जस्ता युवाहरुको भविष्य अन्धकारमा छ । उनीहरुको आफ्नै संवैधानिक(कानुनी ) पहिचान छैन । हालै संसद र राष्ट्रसभाबाट समेत पारित गरि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट हस्ताक्षर नभएपछि नागरिकता विहिन नेपाली युवाको विचल्ली छ । जो नेपालमै जन्मे,नेपालमै हुर्के,नेपालमै शिक्षा आर्जन गरे,जसको आमा नेपाली हुन बुवा समेत नेपालमै वसोवास गर्छन र अन्य मुलुकको नागरिकता वा जायजेथा केहि उनीसंग छैन उनले नेपालको नागरिकता र मतदान अधिकार पाउने वा नपाउने भन्ने प्रश्नको सम्बोधन हुन नसक्दा नागरिकता विहिनको विचल्ली छ ।
संविधानमा नागरिकता सम्बन्धि उल्लेख गरेको व्यवस्थाकै बर्खिलाप गर्दै आएको नेपालको राज्य व्यवस्थाले विभिन्न कानुनी अडचनकै बहाना बनाएर हजारौ लाखौ युवालाई नागरिकता बिहिन बनाएर राख्दा देशकै विकास गतिशिल हुन पाएको छैन । काम गर्ने हातहरु नागरिकता अभावमा बेरोजगार भएर बस्नु पर्दा देशले ठुलै क्षति व्यहोर्नु परिरहेको भएपनि यसप्रति भने राजनितिक दलहरुकै समेत एकमत छैन । विभिन्न दलले आफ्नो उदेश्य अनुरुप नागरिकताको व्याख्या गर्न खोज्दा नागरिकता विहिन नेपालीहरु आफ्नै अधिकारको लागि लड्न बाध्य हुनु परेको छ । युवाले नागरिकता पाए उनी मतदाता हुने र युवाले मतदान गरे स्वार्थपुर्तिकै लागि गद्दीमा वसेका नेताहरुको विकल्प खोजिने हुदा सोहि गद्दीमा वसेकाहरुले समेत युवालाई मतदाता हुनबाट र नागरिक हुनबाट बन्चित राखेको नागरिकता विहिन युवाहरुको आवाज उठन थालेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ घर भएका अर्जुन साह ३५ वर्षका छन । उनले जन्मदा नेपालकै भुमिका आँखा खोले । उनी यहि भुमिमा जन्मेर हुर्कदै गर्दा उनलाई कसैले तिमी यो देशको नागरिक हैनौ भनेर भनेन । उनले नेपालकै राष्ट्रगाण गाए ,पहिले श्रीमान गम्भिर….. र पछि सयौ थुंगा फुलका हामी….। उनलाई एसएलसी सकेर उच्च शिक्षाको लागि नागरिकता बनाउनु पर्ने र मतदाता नामावलीमा नाम लेखाउनु पर्ने बेलामात्र भनियो तिमिले नागरिकता पाउदैनौ भनेर । अनि सुरु भयो आफ्नो अधिकारको लागि अर्जुनको संघर्ष । उनी जस्तै माधुरी पासमान समेत बालिग भएर पनि मतदान गर्नबाट बन्चित छिन । उनले आमाको नामबाट नागरिकता लिन खोज्दा भौतारिनुको अलावा केहि पाउन सकिनन ।
करिव ४० वर्ष पहिले बुवा र आमाको विवाह हुदा अर्जुनका बुवा नेपालमै थिए । बुवा समेतको पालन पोषण नेपालमै भएकोले उनको भारतमा केहि छैन । पहिले पंचायतीकालमा मतदान समेत गर्दै आएका अजुर्नका बुवा पछि मतदान गर्नबाट बन्चित भए । बुवाकै नेपाली नागरिकता नभएपछि अर्जुन र उनका दाजु समेतले नागरिकता पाउन सकेनन । अर्जुन नागरिकताकै लागि भौतारिरहदा र राम्रो राम्रो कामको अफरहरु सोहि कारणले छोड्नु पर्दा एकदिन आवेशमा आएर आफ्नो आमा बुवालाई प्रश्न गरेका थिए,“मैले के अपराध गरे ? के म जन्मनु अपराध हो ? र जन्मेपछि मैले किन मेरो अधिकार पाईरहेको छैन ? ” तर कानुनी झमेलाले नागरिकता पाउन नसकेका अर्जुन जस्ता हजारौ युवाले आफ्नो पहिचान खोज्दैछन ।
अर्जुनले नेपाल सरकारमाथि मुद्दा गर्दा मतदाता नामावलीमा नाम लेखाउन सफल भए र उनले एक पटक मतदान समेत गरे तर उनको नाम पुनः मतदाता नामावलीबाट हटाइयो । कारण भने अझै उनलाई भनिएको छैन । अदालतले नै उनलाई मतदान गर्ने अधिकार रहेको र मतदान गर्न दिनु भनेर २०७० मा आदेश दिएकोमा एक पटकलाई उनले सहजै मतदान गर्न पाए । तर सो पछि उनको नाम हटाईदा उनले यथेष्ट कारण निर्वाचन कार्यालयसंग माग्दा समेत पाउन सकेका छैनन । अर्जुनले वंशजकै आधारमा नागरिकता पाउनु पर्ने भन्दै मुद्दा गरेकोमा अदालतकै आदेशले बैंकमा खाता खोल्न तथा अन्य केहि सुविधाहरु पाउन सकेपनि उनको नागरिकता र मतदान गर्ने अधिकारको सुनिश्चितता कहिले हुने भन्नेमा सरकार नाजवाफ छ ।
२०६० सालमा एसएलसी पास भएपछि नागरिकता लिन प्रकृया थालेका अर्जुन २०७९ को अन्त्य भैरहदा समेत हालसम्म नागरिकता पाउन नसक्नु कानुनले आफ्नै नागरिकमाथि गरेको अन्याय हो । समाजसेवा र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका अर्जुनले आफ्नै अधिकार समेतकालागि संघर्ष गर्नु परेको छ । आफ्नो पहिचानको लागि नागरिकता आवश्यक रहेकोले उनले राजनितिक व्यक्तित्वहरुलाई समेत भेटेर आफ्नो पिडा पोखेकोमा नेताहरुले समेत यहि विभेद मधेशीसंग रहेको र आफुहरु यसकै लडाई लडिरहेको बताउने गरेको अर्जुनले थप्छन ।
नेपाली नागरिकता ऐन २०६३ को दफा ३ को ख मा अन्तरिम संविधानमा कुनै व्यक्तिको जन्म हुदाको बखत निजको आमा वा बुवा नेपालको नागरिक रहेछन भने निजले वंशज नागरिकता पाउने भनेर उल्लेख भएको आफुले जानकारी पाएकोमा सोहि अनुरुप २०६९ फाल्गुन ७ गते प्रधानमन्त्रीको कार्यालय,गृह मन्त्रालय,जिल्ला प्रसासन कार्यालय महोत्तरी,मटिहानी नगरपालिका वडा कार्यालय,संसदिय कानुन मामिला मन्त्रालय समेतलाई विपक्षी बनाई उनले नागरिकता पाउ भनेर सर्वोच्चमा मुद्दा हालेको अर्जुन बताउछन ।
राज्य बिहिन मधेशी युवा संघर्ष समितिको नेतृत्व गर्दै आएका अर्जुनले झापा देखि कंचनपुरसम्म २२ जिल्लामा पछिल्लो समय आन्दोलनका कार्यक्रमहरु गरिसकेका छन । उनले माईती घरमा आन्दोलन गर्दा तिन दिन थुनामा समेत वस्नु परेको स्मरण गर्दै राज्यले अनागरिक बनाएर राखेकोमा राज्यको शासन व्यवस्था विभेदपुर्ण रहेको भन्नुमा कुनै आपत्ति नरहेको बताउछन । उनी आफु र आफु जस्ता हजारौ लाखौ युवा राज्यबाटै पिडित हुदा अन्धकारमय भविष्य भएको र न त बाच्न सकेको न त मर्न नै सकेको बताउछन ।
अर्जुन र जलेश्वर नगरपालिका ४ सुगा निवासी २० वर्षिया माधुरी पासमान जस्ता महोत्तरीमा मात्र दशौ हजार नागरिक अनागरिक भएर बस्नु परेको छ । उनलाई आफ्नै देशको मतदानमा भाग लिने अधिकार छैन । आफुले रोजेको नेतालाई मत हाल्न उनले पाउदैनन । न त सरकारी जागिर पाउने आश न यो देशकै नागरिक भएर वैदेशिक रोजगारीमा जाने अधिकार । माधुरीकै एक दाजु भारतको दिल्लीमा वेटरको काम गरेर मासिक १३ हजारमा आफ्नो श्रम बेच्दै छन भने भाईले ९ हजारमा घरायसी कामदारमा आफ्नो परिश्रम बगाउदै छ ।
यता माधुरीका दाजु २४ वर्षिय रवि पासमान एसएलसी सकेर नेपालमै नागरिकता बिना थप अध्ययन गर्न समस्या हुदा कानुनी लडाई लडेर पढ्न सकिन्छ भन्ने कुराको जानकारी नहुदा अहिले भारतमै वेटरको काम गर्नु परेको छ । घरको ऋणको भारी उतार्न वैदेशिक रोजगारीमै जान समेत नसकेको उनी म कुन देशको नागरिक ? भनेर प्रश्न गर्छन । उनी भन्छन,“आफु भारतिय भएको कुनै आधार छैन न त नेपाली नै भएको प्रमाण छ । अनि म कुन देशको नागरिक ? ”
यता माधुरी समेत १२ कक्षा पढेर अहिले घरमै वस्नु परेको अवस्था छ । उनी केहि संस्थाहरुबाट कामको अफर आएपनि नागरिकता अभावमै उक्त जागिर गर्न नसकेको दुखेसो पोख्छिन । अन्य मुलुकको मुख समेत नदेखेकि माधुरी आफनै देशमा अनागरिक हुदाको पिडा असहय भएको बताउछिन ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नागरिकता संवेदनशिल विषय भएको र हालसम्म नेपाली नागरिकताको लागि प्रमाणिकरण भएको ऐन,निमावली र कानुनको आधारमा नागरिकता वितरण हुदै आएको बताउछन । उनी कानुन वा ऐन तथा नियम नै नबनेको विषयमा नागरिकता दिन नसकिने भएको तर आफुहरुलाई निर्देशित फरम्याटमा नागरिकता दिन कुनै असहजता नभएको थप्छन ।
मधेश प्रदेशका पुर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले हालसम्म नेपालको नागरिकता प्राप्त गर्न नसकेका नेपालीले तत्काललाई अदालत मार्फत नेपाली नागरिकको सरह हक अधिकार प्राप्तीको लागि रिट दिन सकिने बताउछन । राजनितिक खिचातानीमा अल्झिएको नागरिकता विधेयक पारित हुन समय लाग्न सक्ने भएपनि सोहि कारणले नेपालीले पाउनु पर्ने आधारभुत अधिकारबाट बन्चित गर्नु गलत भएकोले कानुन टेकेर अधिकार लिन सकिने थप्छन ।
देशमा आफ्नै नागरिकलाई नागरिकता बिहिन बनाएर राखिदा यसको प्रत्यक्ष घाटा देशलाई नै हुने भएपनि केहि राजनितिक दलले स्वार्थपुर्तिकालागि हजारौ लाखौ युवाहरुलाई अन्धकारमा राख्नु दुखद हो । जो जुन देशमा जन्मे,जुन देशको राष्ट्रगान गाएर ठुलो भएर , जुन देशको संविधान पढे,जुन देशको किताव पढेर हुर्के र जसले आफु यो देशको नागरिक रहेको गौरव गर्न खोज्दैछन तिनलाई ससम्मान त्यो गौरव गर्न सक्ने अधिकार दिन सक्नु पर्दछ ।