रञ्जन भण्डारी
एकासमय विभिन्न पुजामा मेला लगाउन विभिन्न सामग्रीको विक्रीको व्यवस्था तथा बालबालिकाको लागि विभिन्न खेल र मनोरंजनका साधनहरु व्यवस्थापन गरिन्थ्यो । तर अहिले भने समय फरक परेको छ । अहिले पुजामा लगाईने मेलामा दर्शक आकर्षित गर्न दोहोरो अर्थ सहितको गितमा भद्दा नाचको आयोजन गरिन्छ । जहा समाज विकृति तर्फ धकेलिएको आभाष हुन्छ भने प्रसासन निरिह भएको देखिन्छ । कतै प्रसासन यस्ता गित र नाच बन्द गराउन सफल हुन्छन भने कतैबाट रित्तो हात फर्कनु पर्छ । यहा समाजले समेत भावी पुस्ताको लागि कस्तो समाज निर्माण गर्न खोजेको छ र प्रसासनले समेत कस्तो नियन्त्रण गर्न खोजेको छ भन्नेमा क्लियर हुनु आवश्यक छ ।
रातीको १२ बज्दै गर्दा डिजेमा गाना घन्कदै थियो,“देवरा ढोरी चटना बा ।……” सम्भवतः कुनै पुजा आयोजना वा अन्य कुनै कार्यक्रममा ल्याइएको आर्केष्ट्रा नाच वा साँस्कृतिक कार्यक्रमको नाम दिएर ल्याइएको अन्य कार्यक्रम हुनु पर्ने हो । ढोरी चटनाका अलावा समेत अन्य केहि दोहोरो अर्थ लाग्ने भोजपुरी गानाहरुले चिसो मौसममै समेत आयोजक र दर्शक तातेर होला कार्यक्रम अब रोक्नु पर्यो भन्न गएका सुरक्षा निकाय रित्तो हात फर्कयो र बन्द भएन ढोरी चट्ना ।
अहिले बिहेवारीकै समेत समय हुदा प्राय बेहुला वा बेहुलीको पक्षबाट मटकोर तथा अन्य विधीको लागि डिजे सहितको रथसंगै नगर घुम्ने तिनका पारिवारिक टोली समेत यस्ता गितमा रमाउने नौलो होईन ।
त्यसकै अलावा अन्य पार्टी,सभा र समारोजमा दोहोरो अर्थ लाग्ने गित मधेशका जिल्लाहरुमा सामान्य भैसकेका छन । दिनभरि यस्ता गितको विरोध गर्नेहरु समेत कुनै ठाउमा आर्केष्ट्रा हुदा झुमिरहेको देखिएकै छ । यहि समाजमा म समेत पर्ने भएकोले विकृत समाज भन्दै गर्दा त्यो विकृत समाज भित्रको एक म स्वयम रहेको स्वीकार्नुको विकल्प छैन ।

हामी सामाजिक प्राणी भएकोले जो जहा जुनसुकै क्षेत्रको व्यक्ति हुदा पनि हाम्रो सवै थोक यहि समाज भित्र नै हुने गर्दछ । समाज सभ्य भैदिएन भने त्यही समाजमा बस्ने हामी र हाम्रो परिवार तथा सन्तान पनि त्यही सिक्छ जो हेर्छ । पहिले पहिले थोरैबाट सुरु भएको दोहोरो अर्थको गितहरु तथा आर्केष्ट्रा नाच विस्तारै समाजले आफ्नो सभ्यतामा स्वीकार्दै जादा वर्तमानमा यसले भयावह रुप लिईसकेको छ । अहिले बच्चा बच्चाको मुखमा यस्तो दोहोरो अर्थ लाग्ने गितको बोल सहजै बाटो हिड्दा वा कतै बस्दा सुन्न सकिन्छ । तपाई हामी मध्ये अधिकांश कतै आर्केष्ट्रा हुदा कुदी कुदी त्यो हेर्न पुगेकै हुन्छौ । तर त्यही गित र नाच हाम्रो सन्तानले पनि कतै सुन्दै छ कि वा हेर्र्दै छ कि भनेर हामी सोच्दैनौ ।
गत वर्ष यस्तै दोहोरो अर्थ लाग्ने गितमा महोत्तरीकै कुनै स्थानमा आर्केष्ट्रा नाच्दै गर्दा भएको झगडामा एकजनाको ज्यान नै गयो । तर हामी सचेत हुन सकेनौ ।
वर्षभरि हुने दर्जनौ यस्ता कार्यक्रममा अधिकांशमा कुटाकुट भएर यहि समाजको व्यक्तिहरु घाईते हुने गरेको र केहिमा प्रहरीमै समेत पुग्नु परेको समेत हामी रक्सी खाएको झोकमा भुल्ने गर्छौै ।
बास्तवमै के हामीले यस्तै समाजको परिकल्पना गरेका छौ त ? अझै यस्तै कार्यक्रमले महिला हिंसा,बलात्कार,बलात्कार प्रयासका घटनाहरु समेत निम्त्याएको प्रहरीमा दर्ता भएको घटनाहरु केलाउदा देखिन्छ ।
यदि हामीले यस्तै समाज चाहेका छौ जहा आर्केष्ट्रा र डिजेमाथि कुनै प्रतिबन्ध नहोस,खुलेर मन लाग्दी मन भएको समयसम्म रक्सी सेवनको छुट होस,दोहोरो अर्थको गितहरु विना रोकटोक घन्कियोस भने बरु यस्कै समर्थनमा अव आवाज उठाउने कि ? प्रसासनले यस्ता कृयाकलाप माथि लगाएको प्रतिबन्धको लागि प्रसासनकै घेराउ गरौ ।
वा होईन यो गलत हो र यसले समाजलाई सकारात्मक भन्दा पनि नकारात्मक बनाउदै छ भने यसको खुलेर विरोध सुरु गर्नै पर्ने हुन्छ ।
तपाई हामी कुनै यस्तै आर्केष्ट्रामा झुमिरहदा तपाई हाम्रो परिवार घरबाटै यस्तो गितहरु सुनिरहेका हुन सक्छन वा कतैबाट हेरिरहेका हुन सक्छन । जसले पछि नकारात्मकता ल्याउन सक्छ । त्यसैले परिवर्तन हामीले आफैबाट सुरु गर्नु पर्ने हुन्छ ।
प्रहरी प्रसासनले समेत यस्ता कार्यक्रम हुने नहुने वारे क्लियर हुनु आवश्यक छ । कतै आयोजक र दर्शकको शक्ति वढी भए त्यहा बन्द गराउन नसक्ने र कतै शक्ति पुगेन भने बन्द गराएर चोखो हुने वानी त्याग्नु आवश्यक छ । यहि कुनै कुरा गलत हो भने प्रहरीका हरेक कर्मचारीले त्यो गलत हो भनेर जुनसुकै परिस्थित वा जस्तो सुकै पावरफुल मानिसको सिफारिस आउदा समेत त्यसतोलाई रोक्न सक्ने आँट हुनु पर्छ । हैन भने प्रसासनले सरेन्डर गरे हुन्छ ।
रातभरि मदिरामा लठिएर नकारात्मकता फैलाउने नाच हेर्ने र विहान घर पुगेर श्रीमति कुटेर बलिष्ट हुने प्रवृतिको अन्त्य नगरेसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर झुण्ड्याएर कोहि चोखो हुदैनन ।
त्यही भएर समाजले हाम्रो भावी सन्तती कस्तो वातावरणमा हुर्कने र प्रसासनले समेत कसरी समाजलाई मर्यादित र सुरक्षित अनुभुति गराउने तर्फ सचेत हुनु आवश्यक छ ।