महोत्तरी,१२ कार्तिक ।
मिथिलाको महान आस्थाको रुपमा परिचित छठ पर्वको तेस्रो दिन आज अन्तिम तयारी पुरा भएको छ । आज साझ अस्ताउदो सुर्यलाई अर्घ दिएर छठको नदी किनारमा गरिने पुजाको आरम्भ हुने छ भने भोली बिहान उदाउदो सुर्यलाई अर्घ दिएर छठको विधिवत समापन हुनेछ ।
प्राय स्थानमा जनस्तरबाटै छठघाटहरु सजाईने गरिएपनि जनस्तरबाटै घाट तयारी हुन सम्भव नभएको अवस्थामा केहि स्थानिय तहहरुले समेत माटो भर्ने,सम्याउने लगायतका कार्यहरु गरेको देखिएको छ । जलेश्वर,मटिहानी र पिपराका साथै महोत्तरीको प्राय सवै स्थानमा तयारी अन्तिम अवस्थामा छ । यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सिमाक्षेत्रमा पर्ने मटिहानी तुल्सियाही स्थित विग्ही नदीको किनारमा समेत छठको तयारी अन्तिम अवस्थामा छ । महोत्तरी,धनुषा र भारतको मधवापुर र वरिपरिका स्थानियले सोहि नदीमा एकसाथ छठ मनाउने भएकोमा उक्त स्थानमा भारतिय र नेपालीले संयुक्त रुपमा छठ मनाउदै आएका छन । भौगोलिक अवस्थाले उक्त स्थान विभाजित रहेपनि धार्मिक र सांस्कृतिक हिसावले उक्त स्थानमा फरक देखिदैन ।
छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ र अन्तिम चौथो दिन विहान उदाउदो सुर्यलाई अर्घ दिएर छठको विधिवत समापन हुने छ । आज आईतवार छठको तेस्रो दिन छठका व्रतालुहरुले अस्ताउदो सुर्यलाई शान्तिको कामना गर्दै अर्घ दिनेछन । अबको केहि बेरमा जलासयहरुमा छठको पुजन सामग्री लगिने छ ।
छठमा भाकल गरेकाहरुले पमरिया नचाउने,दण्ड प्रणाम लगायतका आ आफ्नो भाकल अनुसार सुर्य देवतालाई खुसी पार्ने तयारीमा छन ।
यता छठमा अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिन चाहिने सामग्रीहरुको खरिदारीको लागि समेत हाट बजारमा भिडभाड देखिएको छ । बजारमा अर्घको लागि चाहिने सामग्रीहरु केरा,अदुवा,भोगटे नेमो,खाजा,उखु लगायतका अन्य सामग्रीहरु किन्नेको भिड छ । छठकै लागि प्राय भारतिय फलफुल र केरामा निर्भर रहेको स्थानियहरु थोरै सामग्री किन्न आफ्नै बजारमा भर पर्ने भएपनि वढी सामग्री खरिद गर्नेहरु प्राय सिमापारीको भारतिय बजार जाने गरेका छन । छठ पर्वको लागि दैनिक फलफुलहरु नेपाल भित्रिरहेको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । जलेश्वर जनकपुर लगायतका विभिन्न स्थानको लागि भारतबाट महोत्तरीको मुल नाका जलेश्वर भन्सार हुदै पाच दिनमा बिस भन्दा वढी ठुलो तथा सानो गाडीमा केरा भित्रिएको जलेश्वर भन्सार कार्यालयका भन्सार अधिकृत दिलीराम सुवेदीले वताए ।
यसकारण मनाईन्छ छठ पर्व ः
छठ प्रतिको आस्था र विश्वास वढेर नै आज मिथिला लगायत नेपालका अधिकांश भेगमा यो मनाईने गरिएको छ । छठमा मधेशी समुदायसंगै पहाडी समुदायको समेत आस्था वढ्दै गएको छ भने अहिले केहि मुस्लिम समुदायहरु समेत छठ व्रत मनाउने गरेका छन ।
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरि मनाईने गरिएको छ । यस पर्वमा माता षष्ठी संगै सुर्यको पुजा गरिन्छ । छठको व्रतलाई कठोर मानिएकोले यसका विधि प्रकृयाहरु सहज भने छैन ।
यो पर्व मनाउन व्रतालु देखि भगवानलाई अर्पन गरिने खिर,उखु,नरिवल,अदुवा,ठकुवा,भुश्वा,केरा लगायतका सम्पुर्ण सामग्री समेत पुर्ण शुद्ध हुनु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार, नयाँ माटोको भाँडा मा जमाइएको दही, उखुका लाँक्रा र मौसम अनुसारका फलपूmल सूर्यलाई अर्घ दिँदा देखाइने चलन छ ।
सरसफाईको प्रतिक छठ ः
पोखरी र नदी सरसफाई गरि पोखरी र नदी घाटमा मनाईने छठ पर्व सरसफाईको प्रतिक पर्वको रुपमा रहेको छ । छठ घाटको सरसफाई देखि व्रतको लागि बनाईने विभिन्न प्रसाद सामग्री तथा व्रतको विधिमा समेत सरसफाई तथा शुद्धताको अति नै ध्यान राखिने हुनाले यो पर्व सरसफाईको सम्वाहक रहेको छ । वर्तमान समयमा समेत हामीले सरसफाईलाई महत्व दिन नसकेकोमा परापुर्व कालमै सरसफाईलाई महत्व दिइएको छ । छठ पौराणिक काल देखि मनाईदै आइएको पर्व हो र त्यही समय देखि पुर्ण शुद्धता र सरसफाईको खयाल गरिएकोमा हामीले यस्ता सकारात्मक कार्य र मार्ग निर्देशनलाई अनुसरण गरि वर्तमान समयमा पनि सरसफाईलाई अत्यधिक महत्व दिनु पर्ने हुन्छ ।