महोत्तरी,२९ असोज ।
जसपाको क्षेत्र नं. ३ को चुनावी छलफल कार्यक्रममा महिला नेतृमाथि हातपात गर्ने जसपाका केन्द्रिय सदस्य कृष्ण शंकर साहलाई पार्टीले निलम्बन गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालयले शनिवार एक विज्ञप्ती जारी गर्दै पार्टीका केन्द्रीय सदस्य कृष्ण शंकर साह लगायतका केहि व्यक्तिहरुबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा भेला भाडिएको,महिला माथि अपमान गरिएको,हातपात तथा अभद्र कार्य गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा पार्टीको विधि,पद्यती विपरित अनुशासनहिन कार्य गर्ने,महिला नेतृहरुमाथि हातपात तथा अपमान गर्ने एवम अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम आजकै मितिदेखि निलम्बन गरिएको उल्लेख छ ।
साथै यस प्रकारको निन्दनिय घटनाको छानविन गरी पार्टीले आवश्यक निर्णय लिने समेत बताइएको छ ।
के थियो घटना ?
विज्ञप्तीमा असोज २१ गते उल्लेख भएकोमा गत असोज २७ गते भएको उक्त कार्यक्रममा जसपा नेतृ मिनु झा माथि साहले अभद्र गालि गलौज गर्दै हातपात गरेका थिए । पिडित नेतृ झा र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार विच विगत केहि दिन देखि मनमुटाव र वादविवाद चलिरहेकोमा पिडित झा ले असोज २६ गते आफ्नो फेसबुकमा,“ जलेश्वर मेयर के‘हुकुमी‘ शासन कते दिन जनता पर महिला के अपमान कुर्सी के प्रयोग कते दिन समय के ईन्तजार करु रावन के घमण्ड त टुटल आहा कुन दुनियाँ के” लेखेकि थिईन । सोहि लेखेको भोली पल्ट असोज २७ गते विहिवार पार्टीको चुनावी छलफलमा ढिलो गरि पुगेका मेयर सोनार र मिनु झा विच छलफल कार्यक्रममै मौखिक वादविवाद चलिरहेकोमा निलम्बित केन्द्रीय सदस्य साहले झालाई तिन झापड हानेका थिए । उनलाई अभद्र गालि गलौज गर्दै झापड हानेपछि वातावरण खलवलिएपछि पार्टीका नेता तथा कार्यकर्ताहरुले झगडा छोडाएका थिए ।
तथापी दुईजना विच हात हालाहाल छुटेपनि मेयर सोनार र निलम्बित केन्द्रीय सदस्य साहले झालाई अभद्र र अपमान जनक गालि गलौज गरिरहेको र पछि मेयर सोनारले कार्यक्रम वाहिरबाट थप मानिस बोलाएर होहल्ला गराएको पिडित नेतृ झाले बताईन ।
उनले कार्यक्रममा क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार हरि नारायण यादव,क्षेत्र ३ क का उम्मेदवार दिपेन्द्र झा,पार्टीका जिल्ला अध्यक्ष राम प्रकाश यादव लगायतका नेताहरु तथा सयौ कार्यकर्ता कार्यक्रममा उपस्थित रहेको बताईन । नेतृ झाले भने दिपेन्द्र झाले आफुमाथि भएको साँघातिक हमलाको विरोध गरेको वताईन । नेतृ झाकै शव्दमा ३ ख का उम्मेदवार दिपेन्द्र झाले आफुसंग कार्यक्रममा भएको अन्याय विरुद्ध आवाज उठाएको समेत थपिन । यता महिलामाथि हातपात भएपछि अर्कि नेतृ सविता यादवले समेत घटनाको प्रतिकार गर्दै विरोध गरेकि प्रत्यक्षदर्शीहरुले वताएका छन ।
तर महिला नेतृमाथि पार्टीकै नेताहरुबाट अपमान,अभद्र व्यवहार र हातपात हुदा समेत जिल्ला कार्यालय भने मौन वसेको छ भने पार्टीका अन्य नेताहरु समेतले घटना ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।
चुनाव भएकै कारण भोट विग्रने डरले पार्टीका नेतृत्वको भुमिकामा रहेका नेताहरुले घटनाको विरोध गर्ने र दोषीलाई कार्यवाहीको दायरामा ल्याउनुको साटो घटना लुकाउन खोज्नु समेत दण्डनिय अपराध रहेकोमा घटनाको निश्पक्ष जाँच भई दोषीहरुलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने पार्टीकै प्रत्यक्षदर्शीहरुको भनाई छ ।