रञ्जन भण्डारी
महोत्तरी,२६ असोज ।
पिपरा गाउपालिका ५ सहोडवा निवासी १९ वर्षिया कविता यादवको आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गत असोज १८ गते कुटिएकि कविताको उपचारको क्रममा असोज २५ गते मृत्यु भएको हो । श्रीमानले दिएको शारिरिक यातनाले टाउको सहित शरिरका विभिन्न भागमा गम्भिर चोट पुगेको र मस्तिष्कमा रगत समेत जमेकोमा भेन्टिलेटरमा राखिएकि कविताको उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल भर्ना भएपछि घटना वारे जानकारी पाएको प्रहरीले असोज २१ गते कविताका श्रीमान २१ वर्षिय बिमलेश यादवलाई पक्राउ गरेको हो । १८ गते नै कवितालाई कुटपिट गरेका बिमलेशले असोज २० गते बिहान उनलाई अस्पताल भर्ना गराएर आफु फरार भएका थिए ।
कविताकि आमा ममता यादवले उपचारकै क्रममा रहेकि कविताको ज्यान मार्ने प्रयास गरेको भन्दै आफ्नै ज्वाईमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएकि थिईन । प्रहरीले सोहि जाहेरीको आधारमा आरोपी बिमलेशलाई नियन्त्रणमा लिएको थियो । यता कविताको मृत्यु भएपछि सोहि ज्यान मार्ने उद्योग भने कर्तव्य ज्यानमा परिणत भएको र घटनाको अनुसन्धान चलिरहेको एसपी कृष्ण पंगेनीले बताए ।
असोज २० गते बिहान करिव ५ बजे जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा कवितालाई लगिएकोमा अस्पतालले उनलाई न्युरोमा रेफर गरेका थिए । जनकपुर सुरक्षा अस्प्तालका चिकित्सक श्रीराम शर्मालाई बिमलेशले ओछ्यानबाट लडेर श्रीमति घाईते भएको बताएपनि चिकित्सकले भने यो कुटपिटको चोट देखिएको भन्दै बिरामी पुर्जामै सो उल्लेख गरेका थिए । यता उक्त अस्पतालबाट रेफर गरिएपछि जनकपुर स्थित जनकपुर न्युरो होस्पिटल तथा रिसर्च सेन्टरमा लगिएकोमा सोहि अस्पताल प्रसासनले जनकपुर सुरक्षा अस्पतालको रेफर पुर्जा र बिरामीको जाँच पछि कुटपिट भएको निष्कर्ष निकाल्दै प्रहरीलाई जानकारी गराएका थिए ।
यता ज्वाईको अरु महिलासंगको सम्बन्ध र दाईजो छोरी हत्याको कारण रहेको मृतक कविता कि आमा ममताले बताईन । उनले कुटपिट गरिएकै दिन छोरीले आफुलाई फोन गरेर मलाई कुटपिट गरिएको छ,म घर आउछु भनेर भाईलाई पठार्ईदिन कुरा गरेको बताईन । बिहानै कुटपिट गरिएपछि घाईते भएकि कवितालाइ साझ पुनः कुटपिट गरिएको र उनी कुटाईबाट उनको अवस्था गम्भिर भैरहदा समेत ज्वाई र उनको परिवारका सदस्यहरुले दुई दिन घरमै राखेर अन्तिम अवस्थामा अस्पताल पुर्याएपछि उपचारको क्रममा छोरीको मृत्यु भएको उनले बताईन ।
आफुहरुलाई समेत प्रहरीले जानकारी गराएपछिमात्र थाहा भएको बताउदै कविता कि आमाले ज्वाईलाई हदैसम्मको कार्यवाहीको मांग गरेकि छिन ।
“महिलामाथि हुने हिंसा कविताको मात्र पहिलो वा अन्तिम भने होईन । समाजमा प्राय परिवारमा दैनिक महिलासंग यस्तै अमानविय व्यवहार,अत्याचार र हिंसा हुने गरेको छ । आमा बुवाले छोरीले कुटाई खाएको सुनेपछि प्राय छोरीलाई नै सम्झाउन थाल्छन । श्रीमानलाई छोड्यौ भने कहा र कसरी जिवन विताउछौ ? थोरै बर्दास्त गर उ आफै सुध्रिन्छ । तर त्यसता श्रीमान सुध्रिनुको साटो झन हिंसा गर्न हौसिन्छन र कि त श्रीमति नै स्वास भएको अचल मुर्ति बन्नु पर्छ कि त ज्यान गुमाउनु पर्छ । ”,महिला अधिकारकर्मी सुनिता झा बताउछिन । उनी थप्छिन ,“ जिल्ला प्रहरी कार्यालयको महिला,वालवालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा दैनिक दुईचार वटा केस त श्रीमान,ससुराली पक्षका आफन्तबाटै कुटिएकी महिलाको आउछ । प्राय सामान्य प्रकृतिको केशमा दुईजनालाई मिलाएर पठाईन्छ तर बास्तवमै त्यो परिवार मिलेको हुदैन र घर पुग्ने वितिक्कै उनीमाथि पुनः प्रहरीमा किन गएको भनेर हिंसा हुन्छ । त्यो बेला ति महिला थाक्छिन र घरमै साँस भएसम्म अन्याय सहिरहन्छिन ।”
अधिकारकर्मी झा थप्छिन ,“कविता जस्ताको ज्यान लिने यस्ता श्रीमानहरुलाई कानुनले समय खेर नफाली तत्काल सजाय तोक्न सक्नु पर्छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले महिलामाथि हुने हत्या जस्तो जघन्य अपराधमा बोल्नै पर्ने हुन्छ ।”