रञ्जन भण्डारी
महोत्तरी,१३ असोज ।
असोज १४ देखि १९ गतेसम्म संचालन हुने जलेश्वर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक संतोष साहले जनाएका छन । जलेश्वरमा पत्रकार सम्मेलनको आयोजन गर्दै उनले आयोजन समिति निर्धारित मितिमै जलेश्वर महोत्सवमा आगन्तुकहरुलाई स्वागत गर्न आतुर रहेको बताउदै वढी भन्दा वढी संख्यामा उपस्थितिका लागि सम्पुर्ण आम जनसमुदाय तथा आन्तरिका तथा वाह्य पर्यटकलाई आव्हान गरेका हुन ।
जलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल जलेश्वरनाथ महादेवको आशिर्वादले आफुहरुले सवै व्यवस्थापन गरिसकेको र महोत्सव सफल बनाउन सवैको साथ र सहयोगको आवश्यक्ता रहेको बताउदै संयोजक साहले महोत्सवमा लगाईने प्रदर्शनीमा स्थानिय उत्पादनसंगै नेपालका अन्य जिल्लाहरु,बंगलादेश,भारत,पाकिस्तान र चीन आदि देशहरुका सस्ता र गुणस्तरीय सामानुहरुको वृहत प्रदर्शनी गरिने वताएका छन ।
विभिन्न स्टलहरु मार्फत गरिने उक्त प्रदर्शनीमा ग्राहक तथा आगन्तुकले सामानहरु उचित मुल्यमा किन्न सकिने बताएका छन । यता कार्यक्रममा स्थानिय कलाकारसंगै जनकपुर स्थित मिनापकै समेत दैनिक साँस्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।
हाल खर्च वारे यकिन भन्न नसकिने भएपनि ३० लाख भन्दा वढीको लागत महोत्सवमा लाग्ने उनले थपे ।
जलेश्वरमा पहिलो पटक आयोजना हुन लागेको जलेश्वर महोत्सवको लागि स्टलहरु बुकिंग भैरहेको र बुकिंग संतोषजनक रहेको संयोजक साहले वताए ।
जलेश्वर उद्योग वाणिज्य संघको आयोजनमा भैरहेको जलेश्वर महोत्सवमा जलेश्वर नगरपालिका,मटिहानी नगरपालिका लगायत केहि निर्वाचित जनप्रतिनिधीहरु तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरुले समेत आर्थिक सहयोग गर्दैछन ।
भारत र महोत्तरी कै बर्दिवास तथा जनकपुरको बजारको चेपुवामा परेको जलेश्वरको बजारलाई प्रोत्साहित गर्न तथा जलेश्वरको पहिचानलाई थप प्रचार प्रसार गर्न महोत्सव आयोजना गरिएको वताइएको छ ।