रञ्जन भण्डारी
महोत्तरी,२२ भदौ ।
जिल्ला अदालत महोत्तरी परिसरमा गोलघरमा बस्ने विषयमा विवाद भएपछि एक प्रहरी हवलदारले कैदी कुटपिट गरेका छन् । गोलघरमा कैदी र प्रहरीसमेत बसेकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवलदार दीपेन्द्र ठाकुरले कैदी संजयकुमार साहलाई कुटपिट गरेका हुन् ।
मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरी असइ थमन विकको हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका जलेश्वर– २ निवासी संजय साहलाई प्रहरी हवलदार ठाकुरले आफूसमेत बस्ने भनेर पर सर्न भनेकोमा ठाउँ नभएको भन्दै सर्न असमर्थता देखाएपछि हवलदार ठाकुरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेको संजयले बताएका छन् ।
घटनापछि आफूले किन गाली गरेको भनेपछि हवलदार ठाकुरले आफूलाई एक झापड हानेको बताए । तर, कारागारबाट उनीसहित २२ जना कैदी अदालत परिसरभित्रको गोलघरमा रहेकोमा कैदीहरूले होहल्ला सुरु गरेको साहको भनाइ छ । यता कारागारबाट जेलरसहितको टोली पुगेर कैदीहरूलाई फिर्ता ल्याएको जलेश्वर कारागारका जेलर रामचन्द्र साहले बताए । उनले कैदीहरूसँग झगडा भएको तर कुटपिटबारे आफू अनभिज्ञ रहेको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले आफूले घटनाको छानबिन सुरु गरेको बताए । उनले घटनामा दोषी पाए कार्यवाही गर्ने बताए ।