सञ्चार समाचारदाता
महोत्तरी,१० भदौ ।
कुनै वेला गणित विषयको प्राज्ञहरु नै उत्पादन गर्ने थलोको रुपमा परिचित महोत्तरीमा बालबालिकाहरु गणित विषयमै कमजोर हुन थालेपछि पुनः गणित विषयको सोहि प्राज्ञता फर्काउन गणित विषयका शिक्षकहरुलाई थप दक्ष बनाउन थालिएको छ । महोत्तरीको पिपरा गाउपालिका स्थित विभिन्न १६ सामुदायिक विद्यालय र ३ धार्मिक मदरसाका कक्षा ३ का गणित विषयका शिक्षकलाई दक्ष बनाउन लागिएको हो ।
सोहि दक्षता दिन गत भदौ ६ गते देखि १० गतेसम्म जलेश्वर स्थित नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाको सभाहलमा उनीहरुलाई पाच दिने तालिम प्रदान गरिएको छ । पिपरा गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा उक्त तालिम दिइएको हो ।
जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत विनयबाबु ढकालले शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर बृद्धि गर्दै एकिकृत पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी हासिल गर्दै बालबालिकाको सिकाई मा सुधार गर्ने उद्देश्यका साथ शिक्षकलाई नै दक्ष बनाउन तालिम आयोजना गरिएको बताए ।
यता तालिमको समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरतबाबू सुवेदीले तालिम विद्यार्थीको दैनिक शिक्षण सिकाई सँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने बताए ।
उनले प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुनु पर्ने समेत थपे । कोरोनाका कारण विद्यालय बन्द हुदा बालबालिकामा शैक्षिक क्षति भएका कारण शिक्षकले नै उनीहरुको अवस्था, समस्या बुझ्दै बालबालिकाको सिकाईमा सहयोग गर्न उनले आग्रह समेत गरे ।
त्यस्तै पिपरा गाँउपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले तालिममा सिकेका सिपहरुलाइ कक्षा कोठामा व्यबहारीक रुपमा लागु गर्न निर्देशन दिए । उनले अवको शिक्षामा शिक्षकले शिक्षण मात्र गर्ने नभइ सहजीकरणका माध्ययमबाट बालबालिकामा सिकाइ दिगो बनाउन सकिनेमा जोड दिदै तालिमले दिएका ज्ञान, सिपलाइ कक्षा कोठामा उर्तान अनुरोध गरे ।
यता शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत संजिव कुमार चौधरीले विगतमा महोत्तरी गणितकै विशिष्ट गुरुहरु उत्पादन गर्न सक्षम रहेको सम्झदै तिनै वर्तमानमा महोत्तरीको शिक्षा स्तरमा सुधारको साटो झनै यहाका विद्यार्थीहरुमा गणित विषयमा अभिरुची घटदै गएकोले यस्ता तालिमहरुबाट गुरुले नयाँ कुरा सिक्ने र विद्यालयमा तिनै सिकाईको प्रयोग गरि बालबालिकालाई दक्ष बनाउने बताए ।
यस अघि पिपरा गाउपालिका स्थित कार्यक्रम संचालन रहेको सवै विद्यालयको कक्षा १,२ र ३ का बालबालिकालाई स्वअध्याय सामग्री वितरण गरिसकिएको छ ।