रञ्जन भण्डारी
प्रत्येक वर्ष पुजापाठको समय आयोजना हुने विभिन्न मनोरंजनात्मक कार्यक्रममा अश्लिलता पस्किएको भनेर मेरो आपत्ति हुने गरेको छ । हुन पनि हो सायद, समाजमा नकारात्मकता नफैलियो भनेर कुनैपनि सञ्चारकर्मीले अश्लिलतामाथि आपत्ति जनाउनु स्वभाविक हो । तर सामाजिक सञ्जालहरु टिकटक,इमो तथा अन्यमा पस्किने गरिएको अश्लिलताले हद पार गरिरहदा थोरै नाचेर,दर्शकलाई मंत्रमुग्ध पार्दै दुई रुपया आर्जन गर्ने कलाकारहरुमाथि यो हामी मिडियाकर्मीको आपत्ति गलत हो कि भन्ने प्रश्नले घेरिएको छु ।
एकातर्फ मेरो शरिर मेरो अधिकारको लडाई चलिरहदा यस्ता कार्यक्रमहरुमा केहि मात्र व्यवस्थापकिय पक्ष (बालबालिकाले हेर्न नमिल्ने) गरि दुरुस्त गर्न सके समाजको लागि यो पनि ठिक्कै हुने हो कि भन्ने लागेको छ । यस्ता नृत्य गर्न आउने प्राय सवै उमेर पुगेका र हेर्ने दर्शकमा कम उमेरका लाई निषेध गर्न सके हाम्रो समाजले यतिसम्म पचाईसकेको जस्तो लाग्छ ।
विगत दुई दिन देखि मलाई सोधिएको प्रश्नहरुमा टिकटकको अश्लिलता तपाईले नदेख्ने अनि मनोरंजन गर्न आएका कलाकारले कार्यक्रम गर्दा तपाईले आपत्ति जनाउने ?घर घरमा छोरी बुहारीहरु सामाजिक संजालकै माध्यमले खुल्दैछन तपाईले बाहिरबाट आएका कलाकारलाई रोक्ने ? लगायतका अनेकौ प्रश्न गर्ने गरिएको छ । बास्तवमै उनीहरुको कुरामा दम छ जस्तो लाग्छ । हात हातमा महंगो मोबाईल र मोबाईलमा नेटको माध्यमले चल्ने भिडियो बनाउने विभिन्न एप्सहरुले विग्रिदै गएको हाम्रो समाजमा केहि घन्टाको मनोरञ्जनको लागि आउने कलाकारलाई किन रोक्ने हामी ?
विभिन्न अवसरमा प्राय भारतका र नेपालका विभिन्न जिल्लाबाट आउने कलाकार समेतले कार्यक्रम गरिरहदा उनीहरु आफै नआई हाम्रै समाजका व्यक्तिहरुले उनीहरु रह्ने ठाउमै गएर उनीहरुलाई कार्यक्रम गर्न पैसा तिरेर ल्याउने गरेकोले पनि हाम्रो समाजले यहि चाहेको हो कि भन्ने लाग्न थालेको छ ।
यस्ता कार्यक्रम बन्द गराउन प्रहरी पुग्दा विगतका वर्षहरुमा पनि र यस पटक पनि प्रहरीलाई माथि नै आक्रामक हुने गरेको समेत देखिएकोमा समाजले नै अपनाउन खोजेको कुरालाई हामीले किन रोक्ने भन्ने प्रश्न कडा रुपमा आएको छ ।
साँस्कृतिक कार्यक्रमका अलावा अश्लिलता पस्कने खालका कार्यक्रम हुनु परेन भन्ने समाजबाट आवाज नै नआउदा पनि संचारकर्मीहरु किन उफ्रनु पर्यो ? जसरी समाज चल्दै छ त्यसरी नै समाजलाई चल्न दिनु नै सहि हो कि ?
जनप्रतिनिधीहरु नै यस्ता कार्यक्रम ल्याउन पैसा दिदा र प्रहरी नै युनिफर्ममा स्टेजमै नाचिदिदा पनि संचारकर्मीले नै आफ्नो सोच परिवर्तन गर्ने हो कि भन्नेसम्मको कुरा सोच्न बाध्य बनाएको छ ।
त्यसैले अव समाजलाई चाहिने यस्तै खालका कार्यक्रमहरु र सामाजिक संजालका एप्सहरुलाई बालबालिकाको पहुचबाट टाढा हुने गरि व्यवस्थित गर्ने कि ?