अरुणकुमार यादव
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका – ९ स्थित रुपनी रोडमा यातायात व्यवस्था सेवा कार्यालय संचालन भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एक समारोह बीच मंगलबार यातायात व्यवस्था कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजमा यातायात कार्यालय संचालनमा आउनु सप्तरीबासीका लागि ठूलो उपलब्धि भएको बताए । कार्यालयका लागि जग्गा उपलब्ध गराउन आग्रह गर्दै मन्त्री साहले भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारबाट उपलब्ध गराउन तत्पर रहेको बताए । कठिन परिश्रमबाट आज सफलता पाएका छौं, कार्यालयबाट स्वस्थ र सरल तरिकाले सेवा प्रबाह होस्, मन्त्री साहले भने, यो आम सप्तरीबासीका लागि खुशीको कुरा हो , यहाँबाट बढीभन्दा बढी सहज, सुलभ ढङ्गले गुणस्तरीय सेवा प्राप्त हुन्छ भन्नेमा प्रदेश सरकार संबेदनशिल छ, आम जनताको सरोकारको लक्ष्य हासिलमा बाधा अबरोध गर्ने गरी जनगुनासो आए भने जो कोहिमाथि कारबाही गर्छौ ।

मन्त्री साहले संघीय शासन प्रणालीमा विकासीय कार्यले छलाङ्ग मारेपनि आम जनताले विकासको अनुभूती गर्न अझै नपाएको भन्दै चिन्ता व्यक्त गरे । विगतको तुलनामा सप्तरीमा स्वास्थ्य, शिक्षा, यातायातको क्षेत्रमा विकासले गति लिएको बताउँदै मन्त्री साहले व्यवस्था परिवर्तन भएपनि जनताको अबस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे । उनले सामाजिक परिबर्तन विना विकासको अनुभूती हुन नसक्ने बताए । प्रदेशकै रौतहटपछि सप्तरी नै सबभन्दा पछाडि परेको जिल्ला भएको चर्चा गर्दै मन्त्री साहले सप्तरी जिल्लाको समग्र विकासका लागि राजनीति नगरी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री साहले यातायात कार्यालय राजविराजमा ल्याउन सप्तरीका राजनैतिक दल, संचारकर्मी, उद्योगी व्यवसायीहरुको अहम् भूमिका रहेको भन्दै प्रशंसा समेत गरे । मधेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, राजविराज नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जवाहर यादव, सगरमाथा ट्रक व्यावासायी संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल लगायतकाले यातायात कार्यालयको सफलताको शुभकामना व्यक्त गरे ।
यातायात कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री यादवले कर्मचारीहरुलाई सुशासनसहितको सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । देशैभरका यातायात कार्यालयबाट सेवाग्राहीहरु अझै सन्तुष्ट हुनसकेको छैन, मन्त्री यादवले भने, यातायात कार्यालयबाट सेवा लिदा अतिरिक्त शुल्क बुझाउनुपर्ने सेवाग्राहीबाट हामीले पनि गुनासो सुनेका छौं । सेवाग्राहीलाई खुशी पार्ने गरी सरल, सुलभ र गुणस्तरीय सेवा प्रधान गर्न आग्रह गर्दै उनले सबैको साथ सहयोगबाट मात्र विकास सम्भव रहेकोले हातमा– हात मिलाए अघि बढ्नुपर्नेमा जोड दिए ।
सबैको सामुहिक प्रयासले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न सफलता हाँसिल भएकोमा सप्तरीबासीलाई धन्यवाद र बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले कार्यालय संचालनका लागि पूर्वाधार निर्माणको कार्यमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फरक प्रसंगमा मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर नेपाली नागरिकमाथि अन्याय गरेको टिप्पणी गरे ।
जनतालाई नागरिकताविहिन गर्ने कुनै पनि सरकारलाई अधिकार छैन, मन्त्री यादवले भने, आफ्ना नागरिकलाई नागरिकता प्रदान गर्नु सरकारको दायित्व हो, राष्ट्रपतिले नागरिकता विधेयक स्विकृत नगरी फिर्ता पठाएर नेपाली जनतामाथि अन्याय गरे । नेपाली काँग्रेसका नेता समेत रहेका उनले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने जिकिर गरे ।
निमित्त कार्यालय प्रमुख शशी प्रसाद यादवले गरे । उक्त कार्यालयबाट लाइसेन्स नवीकरण, व्लुबुक नवीकरण, सवारी दर्ता, रोड प्रमिड लगायतका सेवा उपलब्ध गरिने जनाएको छ । व्लुबुकको प्रतिलिपी र लाईसेन्स दिने कार्यपनि छिट्टै प्रारम्भ गरिने यातायात व्यवस्था सेवा केन्द्र राजविराजका नि.प्रमुख यादवले जानकारी दिए ।