काठमाडौं ।
मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बापो होल्डिङ्सले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने भएको हो ।
मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउँदै छ भने जनकपुरमा ३ सय सैयाको अस्पताल स्थापना गर्ने भएको छ । जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले अढाई दशकअघि खरिद गरेको करिब ३५ बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनका लागि तयारी अघि बढिसकेको ग्रुपका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।
त्यस्तै, मणिपाल ग्रुपले धनुषाको जनकपुरमा ३०० बेडको हस्पिटल सञ्चालन गर्ने गरी यसअघि नै २७ करोड रुपैयाँ लगानी गरिसके पनि सञ्चालनमा आउन सकेको थिएन । यसलाई पनि तत्काल अघि बढाउन ग्रुप अघि बढेको अध्यक्ष बतासले बताए ।
विगतमा माओवादी आन्दोलन र मधेस आन्दोलनले गर्दा मणिपालले निर्माण गरेको अस्पताल भवन भग्नावशेषको स्थितिमा रहेको र कोरोना कालमा मानवीयताका आधारमा मधेस स्वास्थ्य प्रतिष्ठानको नाममा कामचलाउ हस्पिटल सञ्चालन गरिएको थियो । हाल प्रदेश सरकार मार्फत प्रतिष्ठानलाई उक्त भवन खाली गर्न आग्रह गरिएसँगै उक्त हस्पिटल भवनको नजिकै रहेको गुठी संस्थानको जग्गा भाडामा सञ्चालन गर्ने गरी करार सम्झौता गरिसकेको जनाइएको छ ।
जनकपुरवासी तथा छिमेकी मुलुक भारतका सीमा क्षेत्रका जनताको स्वास्थ्य सुविधालाई समेत मध्यनजर गर्दै बतासका भगिनी संस्था बापो होर्डिङ ग्रुपले हस्पिटल सञ्चालन गर्ने तयारी गरेको हो । उक्त भवनमा मधेस स्वास्थ्य प्रतिष्ठानले सञ्चालन गरेको कोभिड अस्पताल व्यवस्थित रूपमा रहेकोले भवन खाली गर्न असार २३ गते सामाजिक विकास मन्त्रालयलाई प्रतिष्ठानले पत्र समेत लेखेको छ ।
अस्पताल भवन केही महिनाभित्र खाली हुने जानकारी प्राप्त भए पनि यसमा ढिलाइ तथा चलखेलमा केही समूह सक्रिय हुँदा स्थानीयवासी आक्रोशित छन् । मणिपाल ग्रुपले गुणस्तरीय र सुविधा सम्पन्न हस्पिटल सञ्चालन गर्ने र त्यसबाट स्थानीय स्तरमै स्वास्थ्य सेवा पाउन सक्ने भए पनि भवन खाली गर्न ढिलाइले स्थानीयमा आक्रोश पैदा गरेको हो ।
मणिपाल प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जलेश्वर नगरपालिकामा लामो समयदेखि निर्माण हुने नसकेको इन्जिनियरिङ कलेजको निर्माण कार्य तत्काल थालनी गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकालाई सिइओ ओडुभिलले लेखेको उक्त पत्रमा जलेश्वरमा इन्जिनियरिङ कलेज साथै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज समेत सञ्चालन गरिने पनि उल्लेख छ । भारतीय व्यवस्थापन रहँदा मणिपालको कलेज सञ्चालनका लागि ३५ बिघा जग्गा विगत २४ वर्षअघि खरिद गरेकोमा इन्जिनियरिङ कलेज सञ्चालन हुने भनिए पनि कलेज सञ्चालनका लागि हालसम्म नक्सा पास गर्ने कामबाहेक कुनै पनि तयारी भएको थिएन ।
कलेज सञ्चालनका लागि जलेश्वर नगरपालिकासँग सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत विभिन्न सीपमूलक तालिम समेत सञ्चालन गरिने जनाइएको छ । उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजहरूमा स्थानीय जनतालाई रोजगारी र छात्रवृत्तिमा पहिलो प्राथमिकता समेत दिइने पत्रमा उल्लेख गरिएको छ ।
भारतीय व्यवस्थापनले २५ वर्षदेखि सञ्चालन गर्दै आएको पोखरास्थित मणिपाल मेडिकल कलेज ग्रुप (नेपाल) विभिन्न विवाद र विरोधका बावजुत केही महिना अगाडि मात्रै बतास अर्गनाइजेशन अन्तर्गतको बापो होल्डिङ्स ग्रुपले खरिद गरेको हो । ग्रुपले लामो सरकारी सम्पूर्ण प्रक्रिया र स्वीकृति पश्चात पूर्ण स्वामित्व खरिद गरिएको जनाएको छ । साभार ः आर्थिक न्युज डटकम