महोत्तरी ।
कुमारी आमा निहारिका राजपुतको बलात्कार आरोपि शिवराज श्रेष्ठलाई अनुसन्धानको लागि हिरासतमा राख्न पाच दिनको म्याद दिइएको छ । उनलाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न उक्त म्याद दिइएको हो ।
मंगलवार साँझ पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशले थुनामा राखि अनुसन्धान थालिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरि जिल्ला प्रसासन कार्यालयबाट म्याद लिई अनुसन्धान थालिएको बताए ।
‘मंगलवार प्रहरी सोधपुछ गर्न जादा प्रहरीमाथि गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी क्षेत्रीले वताए ।
प्रहरी उच्च स्रोतले भने १० दिनदेखि अनशनरत निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान राखेपछि गृह मन्त्रालयको दबाबमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेको बलात्कार आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि फैसलाविरुद्ध निहारिका ६ महिनाअघि पुनरावेदन पुगेकी थिइन् । तर, अहिलेसम्म पेसी बस्न सकेको थिएन ।
निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको छ । सोमबार कानुनमन्त्री गोविन्द बन्दीले शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका थिए । न्याय दिलाउने प्रतिबद्धता जनाउँदै उनले अनशन तोड्न आग्रह गरे पनि निहारिकाले न्याय पाउन सकिनन ।
बुधवार समेत निहारिकासंग वार्ता गर्न सरकारी टोली पुगेपनि वार्तामा भएको कुराकानी भने तत्काल खुलेको छैन ।
यता आरोपित श्रेष्ठले भने पक्राउ पर्नुअघि निहारिका र आफू प्रेम सम्बन्धमा रहेको, तर बलात्कार नगरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका थिए ।
निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै आरोपी श्रेष्ठलाई सफाइ दिएका थिए ।
यता, न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालिसकेको छ । अरू नै मुद्दाका कारण सर्वोच्च अदालत तानिएका उनीमाथि परिषद्ले यसबारे पनि सोधपुछ थालेको हो । शिवराजले डिएनए टेष्ट गराउने समेत सहमति जनाएका छन ।