आफ्नै श्रीमति र सासुलाई जलाएर फरार भएका शंकर सदालाई जलाएको पछुतो नभएको पक्राउ पछि प्रहरीलाई बयान दिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु समक्ष उपस्थित भएका सदाले आफुले श्रीमति जलाएर कुनै गल्ती नगरेको बताएका छन । श्रीमतिको विभिन्न व्यक्तिहरुसंग अनैतिक सम्बन्ध रहेकोमा आफुले केहि सिप नलागेर जलाएको बताएका हुन ।

काठमाडौं स्थित किर्तिपुर अस्पतालको बर्न वार्डको बेड नं. ४०९ मा जिवन मृत्युको दोसाधमा रहेकि ३५ वर्षिया प्रमिलाको जिवन रक्षा गर्न चिकित्सक देखि घटना बारे थाहा हुने सवैले प्रयास र प्रार्थना गरिरहेको अवस्थामा श्रीमानको अमानविय जवाफले सवैलाई चकित पारेको छ ।
गत श्रावण २१ गते मध्यराती आफ्नै माईत भंगहा नगरपालिका ९ कंचनवनमा आमासंगै सुतेकि प्रमिलालाई उनकै श्रीमान शंकर सदाले धनुषाको महेन्द्र नगर स्थित एक पसलबाट ४० रुपयाको मट्टितेल खन्याएर आगो लगाउदा उनी ७० प्रतिशत जलेकि छिन । खाटमा सुतेकि प्रमिलाको जिउमा आगो लागेपछि सोहि आगोको झिल्कोले खाटमुनि सुतेकि उनकी आमा रेशमा देवी पनि पोलिन । ६५ वर्षिय रेशमाको जिउ समेत १० प्रतिशत जलेको चिकित्सकको भनाई छ ।
आमा रेशमाको अवस्था खतरामुक्त रहेपनि प्रमिलाको स्वास्थ्य अवस्था भने गम्भिर छ । यता घटना लगतै फरार भएका प्रमिलाका श्रीमान शंकरलाई प्रहरीले बुधवार नेपाल भारतको सिमावर्ती क्षेत्र सम्सी कन्हमाबाट भारतिय प्रहरी समेतको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले पत्रकार सम्मेलनमा बताएका छन ।
स्थानिय तथा परिवारले पिडितको कुनै गलत व्यवहार र चालचलन नरहेको बताएका छन । संगै एक वर्ष देखि ससुराली बस्दै आएका शंकर,उनकी सासु र श्रीमति गत विहिवार नै बाबाधाम बाट फर्केको र घटनाकै दिन समेत श्रीमतिसंगै घास काट्न गएको प्रमिलाका भतिजो ललित सदाले बताए ।
फुफाज्युँले किन त्यसतो घटना घटाए भन्ने आफुहरुलाई जानकारी नरहेको बताउदै ललितले उनलाई कडा भन्दा कडा सजाय हुनु पर्ने बताए ।

औरही नगरपालिका ८ टिमकिया घर भई ससुराली घर भंगहा नगरपालिका ९ कंचनवन वस्दै आएका शंकर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्केपछि विदेशबाट पठाएको पैसा श्रीमतिले हिनामिना गरेको भन्दै पटक पटक श्रीमतिसंग झगडा गर्दै आएका थिए । प्रमिलाले विदेशबाट पठाएको पैसा समेत सकाएर गाउमा अन्य ठाउहरुबाट ऋण समेत लिएको र अनैतिक सम्बन्ध पनि राखिराखेको आरोप लगाउदै शंकरले बाध्य भएर आगो लगाएको भनाई आरोपी शंकर सदाको छ ।
शंकरले श्रीमतिलाई आगो लगाएपछि घरको वाहिरी ढोका बन्द गरिदिएकोमा छिमेकीहरुले चिच्याएको आवाज सुनेपछि ढोका खोलेपछि उनीहरु जलिरहेको अवस्थामा उद्धार गरेका थिए । आगो लागेर घाईते भएकि प्रमिला तथा उनकी आमाको उपचार जनकपुर स्थित प्रादेशिक अस्पतालमा सम्भव नहुने भएपछि उनलाई काठमाडौं थप उपचारको लागि लगिएको हो ।

प्रहरीको सकृयताले आरोपी पक्राउ ः
घटना लगतै जानकारी पाएको प्रहरी आरोपीको खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी पंगेनीले वताए । उनले घाईतेको अवस्था वारे समेत समय समयमा अपडेट लिईरहदा आरोपीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयसंगै ईलाका प्रहरी कार्यालयहरु,प्रहरी चौकीहरु तथा भारतिय काउन्टर पार्टससंग समेत प्रत्यक्ष समन्वय र प्रयास गरेपछि आरोपी पक्राउ गर्न सफल भएको उनको भनाई छ ।
एसपी पंगेनीले अदालतबाट अनुसन्धानको लागि म्याद थप गराईसकेको र अनुसन्धान गरिरहेको बताए ।