नेपाल प्रहरीले मधेश प्रदेशमा लागु औषधको ठुलो नेटवर्क तोड्न लागेको छ । प्रदेशको महोत्तरी लगायतका आठवटै जिल्लाबाट चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म लागु औषधको सेवन तथा ओसार पसार गरेको आरोपमा २४ महिला र ८५८ पुरुषलाई नियन्त्रणमा लिइ मुद्दा चलाईसकेको छ । प्रहरीले उक्त अवधीमा लागु औषधकै मामिलामा ६५८ मुद्दा दर्ता गरेको छ ।
नेपाल प्रहरीबाट सार्वजनिक गरिने त्रैमासिक तथ्यांक अनुसार मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक हेर्दा गाँजा २३९२ किलो ७७३ ग्राम,चरेश ४३ किलो २३७ ग्राम,हेरोईन ६६ ग्राम,अफिम १२ किलो ५८० ग्राम र कोकिन ३० ग्राम हालसम्म समातेको छ । त्यसतै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तथ्यांक उपलब्ध हुन नसकेपनि दोस्रो त्रैमासिकमा ४३ विग्हा ७ कठा र ६ धुर जग्गामा लगाएको गाँजा फडानी गर्न प्रहरी सफल भएको छ भने तेस्रो त्रैमासिकमा १० विग्हा ४ रोपनी ६ कठा र १५ धुर जग्गामा लगाएको गाँजा प्रहरीले फडानी गरेको छ ।
सोहि अवधीमा विभिन्न शिर्षकको ५ हजार ९७८ मुद्दा मधेश प्रदेशमा दर्ता भएकोमा सो मध्ये २ हजार ७७५ मुद्दा प्रहरीले फर्छ्यौट गरिसकेको छ । उक्त मुद्दाहरुमा प्रहरीले ३ हजार ६५७ जना प्रतिवादी पक्राउ गरेको छ ।