महोत्तरी गाउपालिका २ अनैठा निवासी धनिकलाल यादव खेतमै गोरुले हलो जोत्दै गरेको अवस्थामा भेटिए । आधुनिक समयमा देशले फड्को मारेको र अधिकांश खेतीको काममा मेसिन प्रयोग हुने गरेकोमा उनी पुरानै शैलीमा खेत जोत्दै गर्दा भने चासोको विषय थियो । लख्खा जवान धनिकले आधुनिक प्रविधी प्रयोग नगरि गाईगोरुले खेत जोत्नुले उनीसंग कुरा गर्न कौतुहल्ता जयायो र उनी भएकै खेतमा पुगियो ।
आफ्नो परिचय सहित उनलाई प्रश्न तेर्साइयो । कहिले किन गोरु ? ट्याक्टर पाइएन ?
धनिक हलो जोत्न रोक्दै जवाफ फर्काए,“बाबु बाजेले अर्जेको सम्पत्तिको नाममा विग्हा जति खेत छ तर ईन्धनको मुल्य बढेपछि त्यही खेत जोत्न आधुनिक उपकरणहरुको प्रयोग गर्दा लगानी समेत निकाल्न कठिन हुने भएकोले लगानी कम गर्न गाई गोरुको सहारा लिनु परेको छ ।”उनले थपे,“पेट्रोल र डिजेल झण्डै प्रतिलिटर दुईसय छुन लाग्दा ट्याक्टरले एक घन्टा खेत जोतेको दुई हजार देखि पचिस सय लिन्छ,आफ्नै देशमा खाद्य नपाउदा भारतबाट ब्लयाकमा ल्याउनु पर्छ,धानकै विउकै वेर्ना समेत भारतबाट र नेपालको केहि स्थानमा महंगो मै किन्नु पर्ने बाध्यता छ । अनि उत्पादन भएको धानले बजार नै पाउदैन । बजारमा लगिए व्यापारीले आफुहरुसंग सस्तोमा किन्ने र उपभोक्तालाई महंगोमा बेच्ने गर्छन । तर किसानको हात खाली नै हुन्छ । ”
पहिले गाई गोरुले नै खेत जोत्ने चलन तराईमा भएपनि पछिल्लो समय आधुनिक मेसिन र उपकरणले गाई गोरुको ठाउ लिन थालेपछि हराउदै गएको गाई गोरुले खेत जोत्ने चलन ईन्धानमा भएको मुल्य वृद्धिले पुनः फर्काउन थालेको छ । किसानले खेतमा गरेको मेहनतको प्रतिफल ईन्धन महंगो भएपछि उनीहरुले पाउन नसक्दा गाई गोरुकै प्रयोग पुनः हुन थालेको हो । उत्पादन भन्दा वढी लागत लगानीमा लाग्न थालेपछि किसानहरु पुनः गाई गोरुकै सहारामा खेती गर्न बाध्य हुदै गरेको धनिककै गराई र भनाईले पोखिएको छ ।
देशले समयमा किसानलाई मल खाद्य दिन नसक्नु,विउ वेर्नाको जोहो गर्न नसक्नु र सिंचाईकै समेत उचित प्रवन्ध मिलाउन नसक्दा किसानले खेतमा मेहनतमात्र गरेर प्रतिफल पाउन सकेका छैनन । प्रविधीले उत्पादनमा वढोत्तरी हुन सक्ने भएपनि ईन्धनकै मुल्यले किसान प्रविधीबाट टाढिन बाध्य छन ।
सरकारले सिंचाईकै उचित प्रबन्ध मिलाउन नसक्दा धनिकलाल जस्ता किसान धान उत्पादन गर्न लाग्ने पानीकै लागि आकाशको भर पर्नु परेको छ । छेउमै नगरमा रहेको पानी खेतसम्म पुर्याउन मोटरबाट नै पानी तान्नु पर्ने भएकोमा त्यहा समेत ईन्धनकै कारण लागत बढ्ने भएकोले चौतर्फी मारमा आफुहरु रहेको धनिक बताउछन ।
चर्को घाममा हलोसंगै पसिना वगाईरहेका धनिकलाल जस्ता महोत्तरीका हजारौ किसान अहिले ईन्धनमा भएको मुल्य वृद्धि र सरकारले असहयोगले मारमा छन ।
केहि सिमित सहकारी,किसानहरुकै घेरा भित्र फसेको कृषिसंग जोडिएको कार्यालयहरु सामान्य किसानको पहुचमा छैनन । र पहुचमै भएका किसानहरुले अनुदानमा पाएका मेसिन तथा उपकरणहरु ईन्धन महंगो हुदा खर्च बढ्ने भनेर चलाउन पाएका छैनन ।
महोत्तरीमा कुल जग्गाको ६७३५२ हेक्टर(६७ प्रतिशत) जग्गा खेती योग्य रहेकोमा सो मध्ये ४५५०० हेक्टर जग्गामा धान खेती भैरहेको छ । सरदर प्रति हेक्टर ३.५ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा मौसमले साथ दिए यस पटक उत्पादनमा बढोत्तरी हुने कृषि ज्ञान केन्द्रका प्रमुख डा.रामचन्द्र यादव बताउछन । उनी कार्यालयकै तर्फबाट धेरै किसानलाई अनुदानमा कृषिकर्ममा सहयोग पुग्ने गरि मेसिनहरु दिइएकोमा महंगीले ति मेसिन तथा उपकरणहरु प्रयोग गर्न किसानले लगानी बढी लगाउनु परेको स्विकार्छन ।
किसानले आफै उत्पादन गरेर नेपाली बजारलाई धान पुर्याउन सकिने भएपनि महंगोमा ईन्धन खरिद,कालो बजार बाट खाद्य खरिद गर्नु पर्ने बाध्यता र विउकै लागि समेत परनिर्भरता तथा सिंचाईको अपर्याप्तता तथा अन्य विभिन्न कारणले गर्दा अपेक्षाकृत धान उत्पादन हुन नसकि अझै हजारौ टन धान र चामल भारत तथा अन्य मुलुकबाट आयात भैरहेको छ । कृषि ज्ञान केन्द्र प्रमुख डा.यादवले भारत तथा तेस्रो मुलुकमा रहेको निर्भरता समाप्त गरि आफ्नै कृषकले उत्पादन गर्ने धान मै निर्भर हुन सक्ने स्थित बनाउन नेपाल सरकारले “धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुलनाराका साथ यसपालीको १९ औ राष्ट्रिय धान दिवस महोत्तरीको बलवा नगरपालिका ४ अशोक गाछी टोलमा मनाइएको बताए ।
बाढी आउछ सवै मेहनत बगाउछ ः
यहा कृषकहरु सिंचाई अभाव,मलखाध अभाव र विउ विजनकै अभाव भएर पनि कृषिकर्म गरिरहेपनि हरेक वर्ष आउने वाढीले खेतमा रोपिएको सवै धानवाली वगाएर लग्ने गरेको तितो सत्य पनि छ । सरकारले महोत्तरीको वाढीबाट हुने क्षति न्युनिकरण गर्न नसक्दा हरेक वर्ष महोत्तरीको खेतहरु मरुभुमिकरण हुदै गएको र धान खेती योग्य जग्गामा समेत क्षति पुग्ने गरेको धनिक थप्छन । दश कक्षासम्म पढेर विदेशकै अनुभवले कृषि वारे राम्ररी बुझेका धनिक हरेक वर्ष आउने वाढीले ७० प्रतिशत भन्दा वढी धानवाली बगाएर लग्ने गरेको दुःखेसो पोख्छन ।
पराई मुलुकमा पसिना बगाउनु भन्दा आफ्नै खेतवारीमा वगाएको पसिनाले राम्रो प्रतिफल दिने भएपनि उत्पादनमा वढेको लगानीले हौसला टुटदै गएको समेत धनिकलाल थप्छन ।
उत्पादन लागत उत्पादित अन्न वाली भन्दा वढी हुन थालेपछि कृषकलाई खेतीमै निर्भर बनाईराख्न वाढी नियन्त्रण,मलखाधको सहज उपलब्धता,प्रत्येक कृषकले उत्पादन गर्ने अन्नवालीको बिमा र सिचाईको उचित व्यवस्थापन सहित अब भने किसानलाई बिजुलीसंगै ईन्धनमा समेत अनुदान दिन सकेमात्र कृषिमा लाग्ने किसानहरु उत्साहित हुन सक्ने उनको तर्क छ ।