जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार कर्णले आईतवार पदभार ग्रहण गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत सिंह भण्डारी तथा पुर्व राज्यमन्त्री अभिराम शर्मा,प्रदेश साँसदहरु,पुर्व जिसस प्रमुख तथा प्रजिअ लगायतका विभिन्न गन्यमान्य व्यक्तित्वहरुको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन । हालै सम्पन्न जिससको निर्वाचनमा निर्वाचित भएका जिसस प्रमुख कर्णले निर्वाचित भएकै दिन सपथ ग्रहण गरेपनि उनले कार्यभार औपचारिक रुपमा आईतवार सम्हालेका हुन ।
यता उपप्रमुख नन्दु महरा तथा सदस्यहरुको सपथ ग्रहण जिसस प्रमुखबाटै हुने भएकोमा पदभार ग्रहण पश्चात उपप्रमुख महरा तथा सदस्यहरुलाई जिसस कै सभाहलमा एक कार्यक्रम आयोजना गर्दै जिसस प्रमुख कर्णले सपथ ग्रहण गराएका छन । उपप्रमुख महरा, तथा खुल्ला सदस्यहरु हरि प्रसाद गौतम,श्याम कुमार तामांङ्ग,सरयुग यादव तथा महिला सदस्यहरु जैसो देवी,रिता देवी,लक्ष्मी कुमारी परियार र दलित वा अल्पसंख्यक सदस्य राम लखन पजियारले प्रमुख कर्णबाट सपथ ग्रहण गरेका थिए ।
अनियन्त्रित र अवैध उत्खनन रोक्न नेता भण्डारीको आग्रह
यता पदभार ग्रहण तथा सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका लोसपा नेता शरत सिंह भण्डारीले जिल्ला समन्वय समिति प्रमुख तथा अन्य पदाधिकारीको पद ज्यादै महत्वपुर्ण भएको भन्दै यहि पदमा वस्नेले नदीमा भैरहेको अनियन्त्रित र अवैध उत्खननको अनुगमन गर्न सक्ने भएकोले समन्वय समितिले चाहे चुरे विनास तथा अवैध उत्खनन तत्काल रोकिन सक्ने भन्दै यस प्रति ध्यान केन्द्रित गर्न पदाधिकारीहरुलाई सुझाए । उनले हरेक योजनाको अनुगमन गर्ने अधिकार जिससमा भएकोमा पालिकाहरुसंग समन्वय गरि चुरे विनास तथा अवैध उत्खनन वारे कडा कदम उठाउन प्रमुख कर्णलाई सुझाए । तराई मरुभुमिकरण भैरहेकोमा आउदो पुस्ताको लागि खेती गर्न समेत जग्गा नबच्ने र सवै मरुभुमिमा परिणत हुने भएकोले नदीको दोहन रोक्नु आवश्यक रहेको उनले बताए ।
यता नदीको वेड हरेक वर्ष वढ्दै गएकोमा समेत चिन्ता व्यक्त गर्दै नेता भण्डारीले माथि देखि नै नदीलाई सहि चौडाई र गहिराईमा खन्दै नदीको आकारमा ढाल्दै लगे नदी आफ्नो पुरानो स्वरुपमा फर्कने र यसले वाढीको जोखिम कम हुने बताए । नेता भण्डारीले नदीलाई पुरानो स्वरुपमा फर्काएर दुई तिरको तटबन्धमा व्यापक रुपमा आफनो क्षेत्र पर्ने स्थानिय तहहरुले वृक्षारोपन गरे तटबन्ध समेत मजवुत हुनुको साथै पर्यापरण समेतमा सुधार आउने बताए । मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले आफ्नो शुभकामना मनतव्यमा चुरे संरक्षण र अनियन्त्रित तथा अवैध नदी उत्खनन वारे चर्चा चलाएपछि उनकै कुरालाई पुर्व राज्यमन्त्री अभिराम शर्माले समेत समर्थन गरेपछि नेता भण्डारीले सोहि विषयमा जिसस प्रमुखलाई आफ्नो गहकिलो मनतव्य सहित सुझाएका थिए ।
नेता भण्डारीले जिल्ला स्थित सवै स्थानिय तहहरुसंग समन्वय गरेर मार्ग निर्देशनका साथै अन्य विभिन्न सकारात्मक कार्य गर्न सक्ने हैसियतको जिसस रहेको प्रमुण कर्णलाई सजग र जिम्मेवार भएर आफ्नो पदीय दायित्व निभाउन उनले शुभकामना दिए ।