महासंघ महोत्तरी शाखाको निर्वाचन पुनः गराउनुपर्ने माँ
महोत्तरी समाचारदाता
महोत्तरी, जेठ २६ गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्यहरुले शाखाको निर्वाचन पुनः गराउनुपर्ने माँग अघि सारेका छन् ।
महासंघ महोत्तरी शाखाका सल्लाहकार महेशकुमार दाससहितको महासंघसंग आवद्ध सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्षलाई एक ज्ञापनपत्र दिनुहुदै यस्तो माँग गरेका हुन् ।
स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दिएका पदाधिकारीहरुको पद स्वतः खारेज भएको केन्द्रीय महासंघ र प्रदेश समितिले निर्णय गरेपनि महोत्तरी शाखाले सो निर्णयको अटेर गरेको देखिएकोले पुनः निर्वाचन गराउन नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णलाई सल्लाहकार दासले ज्ञापनपत्र बुझाउनुहुदै माँग गर्नुभएको हो ।
स्थानीयतहको निर्वाचनमा महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल माओवादी केन्द्रबाट मटिहानी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएपनि राजिनामा नदिनुका साथै निर्वाचनपश्चात पनि कार्यभार सम्हालिरहेकोले शाखाका सदस्यहरुले यस्तो माँग गर्नुभएको हो । अहिले पनि शाखामा अध्यक्ष मण्डलकै नेमप्लेट टाँसिएको छ ।
सल्लाहकार दासले केन्द्रीय पत्रकार महासंघ र प्रदेश समितिले पद स्वतः खारेज गर्ने निर्णय गरेपनि खारेज भएको पदमा के हुने हो ? भन्ने निर्णय नगरेको कारणले समस्या देखिएको बताउनुहुदै प्रदेश अध्यक्षलाई चाँडै नै यो विषयमा गहन छलफल पछि निर्णय गर्न आग्रह गर्नुभयो । उहाँले महासंघ अविछिन्न संस्था भएपनि उपाध्यक्षले पद लिन नचाहेकोले चाँडै नै खारेज भएको पदबारे निर्णय नगरिए आर्थिक अनियमितता बढन सक्ने आशंका समेत उहाँले गर्नुभयो ।
उहाँले राजनैतिकदलबाट निर्वाचनमा उम्मेदवारी दिएकाहरूको हकमा साधारण सदस्यता समेत हटाउनुपर्ने भएपनि अहिलेसम्म पनि सो निर्णय नभएकोले ति निर्णय समेत गर्न ज्ञापनपत्र मार्फत आग्रह गर्नुहुदै यी माँगहरु पुरा नगरिए आफुहरु आन्दोलनमा उत्रनुको विकल्प नहुने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिनुभएको छ ।
पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णले ज्ञापनपत्र बुझनुहुदै हामी यस विषयमा गम्भिर भएको बताउनुहुदै शाखालाई जिम्मेबार बनाउन आग्रह गर्नुभयो । उहाँले पनि विधानमा खारेज भएको पदबारे के गर्ने ? भन्ने बारेमा स्पष्ट नगरिएकोले समस्या देखिएको बताउनुहुदै असार ९ गते बस्ने प्रदेश समितिको बैठकबाट केही महत्वपूर्ण निर्णय गर्ने आश्वासन दिनुभयो ।