स्थानिय तह निर्वाचन महोत्तरी
गत स्थानिय तहको निर्वाचनमा महोत्तरीको १५ स्थानिय तह मध्ये ७ मा तत्कालिन राजपा र १ मा तत्कालिन संघिय फोरमले जित हासिल गरेको थियो । पछि सोहि मध्येको पिपरा गाउपालिकाका अध्यक्ष विनोद चौधरीको मृत्यु पछि उपनिर्वाचनबाट माओवादी र एमाले एकिकरण भएको वेला विक्रम चौधरी जिते (विक्रम चौधरी हाल एमालेमा छन ) यता नेपाली काँग्रेसले ३ र माओवादीले ४ ठाउमा जित हात पारेका थिए । तर यसपालीको माहौल कुनै एक दलकै पक्षमा नरहेको देखिन्छ ।
गत निर्वाचन आन्दोलन लगतै भएकोमा सहानुभुतिको मत समेत अत्यधिक हुदा मधेशवादी दलहरुले राम्रै स्थान पाएपनि यसपटक भने अन्य मुख्य दलहरुकै समेत चर्चा निक्कै चलेको छ । मधेशवादी वाहेकका अन्यदलहरु समेत सकृय भई मत र जनता आफ्नो हातमा पार्ने प्रयासमा छन ।
जिल्लाकै जेठो नगरपालिका र सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकामा तत्कालिन राजपा(हालको लोसपा) अत्यधिक मतका साथ जितेको थियो । यहाबाट रामशंकर मिश्रले ५१८० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी संघिय फोरमका सुरेश साह सोनारले ३३६२ मत प्राप्त गरेका थिए । यस पटक समेत सोनारले फोरमबाट टिकट पाएका छन भने उनले मिश्रलाई कडा प्रतिस्पर्धा गर्ने चर्चा व्यापक छ । यता नेपाली काँग्रेसकै दिग्गज नेता र नेपाली काँग्रेसको पुर्व जिल्ला कार्यसमितिका सचिव शम्भु नारायण पाठककै समेत चर्चा चलिरहेकोमा मधेशवादी दलबाट जितेका मिश्रलाई सहज नहुने देखिन्छ । जलेश्वरबाटै यसपटक एमालेले राम आधार कापरलाई टिकट दिएकोमा रामशंकर मिश्रकै पकड भएको ठाउमा उनकै समेत निक्कै राम्रो मत छ र यसपटक उनले चुनाव नै जित्ने दावी समेत गरेका छन ।
गत निर्वाचनको समय तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको केहि कटु वचन र मधेश प्रतिको उनको नकारात्मक भाव फैलिएकोमा यस पटक एमालले ति सवै क्षेत्र सुधार गर्न जलेश्वर लगायत महोत्तरीमै प्रयास गरेको छ ।
यता नेकपा माओवादी कै कौशलेन्द्र शर्मा समेत विगतमा आफ्नो फिल्ड पुनः बनाउन निक्कै कसरत गरेकाले उनको दावेदारी समेत मजवुत देखिएको छ । विहिवारमात्र पत्रकार सम्मेलन गरि उनले प्रतिज्ञापत्र सार्वजनिक गरेकोमा शिक्षा,स्वास्थ्य,रोजगार,कृषीलाई उनले प्राथमिकतामा राख्दै जितपछि जलेश्वरलाई विकासको मामिलामा नमुना पालिका बनाएर देखाउने दावी गरेका छन । हालै एमालेबाट अलग भई बनेको नेकपा एसबाट उम्मेदवारी दिएका रंजित कुमार राय राजनीतिमा नयाँ भएपनि युवामा उनको राम्रो पकड भएकोले उनकै दावेदारीले समेत मतमा फरक पार्न सक्ने देखिन्छ । हालै सिभिल ईन्जिनियरिंग सकेर जलेश्वर नगरपालिकाको मेयरको लागि राप्रपाको तर्फबाट चुनावी मैदानमा उत्रेका सुभाष कुमार यादव माथि समेत उनको पार्टीले जितको विश्वास गरेको छ ।
प्राय दिग्गजहरु विच जलेश्वरमा हुने चुनावी लडाईमा एकमाथि अर्को हावी हुने स्थिति रहेकोमा प्राय सवै पुराना राजनीतिज्ञहरुले प्रतिस्पर्धालाई रोचन ढंगले लिएका छन । सवै उम्मेदवारको आ आफ्नै दावी र प्रतिवद्धताका विच जलेश्वरवासीको मनमा को छन भन्न गार्हो छ ।
तर जलेश्वरवासीको प्रमुख मुद्दाहरु सम्बोधन गर्न सक्नेले नै मत पाउने निश्चित छ । जलेश्वरको मुल मुद्दा मणिपालको जग्गा खाली किन ? जलेश्वरनाथ महादेवलाई ग्राहयता कसले दिने ? जलेश्वरमा आउने वाढीको समाधान कसले गर्ने ? ढल निकासको उचिव व्यवस्थापन कसले गर्न सक्ने ? जलेश्वरसंग जोडिने सडकहरुको पुर्ण निर्माण गर्न कसले सहयोग गर्ने ? जलेश्वर अस्पताललाई नमुना अस्पताल कसले बनाउन सक्ने ? जलेश्वरमै ईन्जिनियरिंग,नर्सिंग लगायतका विभिन्न प्राविधिक शिक्षाको व्यवस्था कसले गर्न सक्ने ? जलेश्वरमा बजार व्यवस्थापन,पार्किंग समस्या लगायतका विभिन्न समस्याको समाधानको योजना को संग रहेको ? बस स्टेण्डको उचित व्यवस्थापन र निर्माण कसले गर्न सक्ने ? लगायतका विभिन्न मुद्दाहरु सम्बोधन गर्न सक्षम ले नै जलेश्वरमा मेयरको जिम्मेवारी पाउन सक्ने स्थिति देखिन्छ ।
यता मतदाताहरुमा उम्मेदवार बनेका प्राय सवै नेताहरुमाथि विभिन्न सकारात्मक तथा नकारात्मक प्रतिकृया भएपनि उनीहरु मध्येबाट नै नगरको नेतृत्व चयन गर्नु परेकोले नगरवासीहरु मत मांग्न आउने उम्मेदवारहरुको कुरा सहज रुपमै सुन्दैछन ।