रञ्जन भण्डारी
विभिन्न व्यक्ति मिलेर बनेको समाजमा सवैको आ आफ्नै मान्यता र बुझाई छन । समाजमै धेरैले भुतप्रेत र बोक्सा बोक्सी मान्दै आएका छन भने यो नमान्ने व्यक्तिहरुको संख्या पनि कम छैन । कोहि धर्मलाई मान्दै आएका छन भने कोहि धर्मलाई मानेपनि धर्मसंगै जोड्न खोजिएको वा जोडिएको अन्धविश्वासलाई मान्न तयार छैनन । यता केहि भने धर्मलाई नमान्ने व्यक्तिहरु समेत रहेकै छन ।


अहिले विजया दशमीको शुभ साईत चल्दै गर्दा प्राय सवै विजया दशमी मनाउन व्यस्त समेत छन । यसै समय विभिन्न शक्तिपिठहरुमा सामान्य भन्दा अत्यधिक भिडभाड समेत देखिएको छ । खासगरि महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भने अहिले खुट्टा राख्ने ठाउको समेत अभाव छ । उक्त मन्दिरमा आउने दर्शनार्थीहरु भने फरक फरक समस्या लिएर मन्दिर पुग्ने गरेका छन । कोहि सन्तान सुखको लागि देवीको आशिर्वाद लिन मन्दिर पुग्दैछन भने कोहि विग्रेको काम र अशान्तिकै कारण समेत देवीलाई विनती गर्न मन्दिर पुग्ने गरेका छन । कोहि भने भुतप्रेत बोक्सा बोक्सीले सताएको भनेर ति भुतप्रेत भगाउन तथा बोक्सा बोक्सीको शक्ति निस्तेज पार्न भगवतिको शरणमा पुग्ने गरेका छन ।
मन्दिरको सिमाभित्र प्रवेश गर्नासाथ त्यसता नकारात्मक शक्तिहरु काम्न थाल्ने र मन्दिरमै रहेका पुजारीहरुको मन्त्रोच्चारण र तान्त्रिक विधीले सोनामाई माताको आशिर्वाद प्राप्त भई त्यसता नकारात्मक शक्तिहरु प्रभावहिन हुने गरेको मान्यता छ । यहा भने धर्म र भगवानको आस्थासंगै भुतप्रेत र बोक्सा बोक्सीलाई जोडिएको पाईन्छ । सोनामाई मन्दिरमा दर्शनार्थीहरु जम्मा भएर भुतप्रेत बोक्सा बोक्सी ठिक गर्ने भएकै कारण यहा लाग्ने मेलालाई भुतमेला समेत भन्ने गरिएको छ ।
सोनामाईमा मात्र नभई गौशाला नगरपालिका ११ कै शनि बाबाको मन्दिर समेत दोस्रो भुत मेला लाग्ने स्थलको रुपमा परिचित हुदै गएको छ । दुई स्थानमा सयौको संख्यामा हजारौ थप भक्तहरुको उपस्थितिमा भुत खेलाउनेहरुको दृष्य निक्कै आश्चर्यचकित बनाउने खालका हुन्छन । उक्त माहौल हेर्दा लाग्छ बास्तवमै भुतप्रेत र बोक्सा बोक्सी हाम्रो प्रत्यक्ष नै छन तर के वास्तवमै त्यो हो वा भ्रममात्र हो वा त्यसतो गरेर भ्रम मात्र छर्न खोजिएको हो यसको वैज्ञानिक खोजबिन हुनु उचित देखिएला ।
समाजमा रहेका व्यक्तिहरुको मन मस्तिष्कमा सोहि दृष्यले जडा गाडेको अवस्थामा कसैले भुतप्रेत हुदैन बोक्सा बोक्सी हुदैन भनेर भन्न समेत खोज्ने साहस नै समेत गर्न नसक्ने अवस्था उक्त स्थलहरुको छ ।
यता तराई मधेशको ब्राण्डकै रुपमा स्थापित गराउन खोजिएको झिझिया नृत्य समेत बोक्सा बोक्सीमै आधारित नृत्य रहेको अझै धेरैले बुझ्न सकेका छैनन । झिझिया नृत्य चल्दै गर्दा तान्त्रिक विधीबाट तयार पारिएको झिझिया(घैटोहरु मिलाएर बनाएको एक सामगी्र जुन झिझिया नाच्ने महिलाहरुले आफ्नो टाउमो राखि नाच्ने गर्छिन । ) पुर्णरुपमा बोक्सीको नकारात्मक प्रभाव कम गर्न नाचिने नृत्य हो ।
त्यसतै हरेक वर्ष कमला स्नान गर्न कमलामा जुट्ने हजारौ लाखौको भिड समेत धामी झाक्री र बोक्सा बोक्सी कै मान्यताको परिधीभित्र रहेको छ । तर हाम्रो कानुनले भने भुतप्रेत र बोक्सा बोक्सीलाई भने अन्धविश्वासको रुपमा व्याख्या गरेको पाईन्छ । एकातर्फ समाजका केहि अगुवाहरुको प्रोत्साहन र अर्को तर्फ कानुनी धाणाले बोक्सी बोक्सी भनेर प्रताडित गर्नेहरु विरुद्ध लड्नेलाई समेत असहज भैरहेको अवस्था छ । समाजमा जतिपनि यस्ता अन्धविश्वासको विपक्षमा सरोकारवालाहरुबाट वकालत भएपनि धर्म र लोकसंस्कृतिको नाममा भुतप्रेत र बोक्सा बोक्सी जस्ता कुप्रथाले प्रश्रय पाईरहेको अवस्था छ ।
प्रहरी,प्रसासन,संघसंस्था,नागरिक अगुवा देखि अन्य सम्बन्धित पक्षहरु बोक्सा बोक्सीको नाममा गरिने हिंसा,हत्या,अमानविय व्यवहार विरुद्ध कडा रुपमै अडिग छन । गत वर्ष महोत्तरीमा एक महिलाको हत्या,चार महिला तथा एक पुरुषलाई बोक्सा बोक्सी भनेर दिइएको प्रताडना पछि कानुनी उपचार नै गरिएको थियो । आरोपीहरु अझै पनि पुर्पक्षको लागि थुनामा छ तर एकातर्फ बोक्सा बोक्सीको नाममा भएको अपराध तथा अमानविय व्यवहारको लागि केहि व्यक्ति दण्डित भैरहदा अर्का तिर बोक्सा बोक्सी र भुत पिसाचको मान्यतालाई प्रश्रय दिदै भुतमेला लाग्दै आएको छ भने बोक्सीको शक्तिलाई नै निरुत्साहित गर्न भनेर तान्त्रिक विधी अनुसार गरिने झिझिया नृत्यलाई मधेश प्रदेशको ब्राण्डकै रुपमा प्रस्तुत गर्न खोज्नु सहि हो वा होईन भन्ने तर्क समेत चर्चामा छ ।
केहि भने यसवाट नकारात्मकतालाई गौन गरेर लोकसंस्कृति,लोकनृत्य र धरोहरको रुपमा प्रचार प्रसा गर्नु पर्ने मान्यता राख्छन भने केहि अझै भुतप्रेत हुन्छन र भुतप्रेत तथा बोक्सा बोक्सी छन भने यसलाइ जस्ताको त्यसतै राख्नु पर्ने अडानमा छन ।
समाजमा अझैपनि अधिकांश पढेलेखेका व्यक्तिहरु बोक्सा बोक्सी हुदैन भन्ने सार्वजनिक अभिव्यक्ति दिईरहदा आफुमाथि वा घर परिवारमाथि नै कुनै आफत विपद आईपर्दा त्यही बोक्सा बोक्सी वा भुतप्रेतले सतायो कि भनेर धामीकहा पुग्छन । यसरी धामीझक्री,भुतप्रेत र बोसा बोक्सीको मान्यताको जडा समाजमै परापुर्व कालदेखि नै गाडिएको हुदा हरेक वर्ष यसैको नाममा कैयौले ज्यान नै गुमाउनु परेको छ भने विभिन्न हिंसा र प्रताडनाकै सिकार समेत हुन पुगेका छन ।
सञ्चारकर्मीहरुबाट समेत झिझिया र भुतमेला तथा कमला स्नानका समाचारहरु लेखिदा त्यसमा लोकआस्था र जनविश्वासको कदर गर्दै धर्ममात्रलाई प्रचारमुखी बनाउने तर त्यसभित्र रहेको अन्धविश्वासलाई उखेल्न समेत भुमिका खेल्नु पर्ने आवश्यक रहेको छ ।
प्रेस स्वतन्त्रता सेनानी वरिष्ट पत्रकार रविन्द्र उप्रेतीका अनुसार धर्म र आस्था बीचको अन्तर र सम्बन्ध छुट्याउन सोनामाई स्थानको सन्दर्भ,महत्व,परम्परा,आस्था सामाजिक परिवेश र बिज्ञानबीचको महत्वलाई उजागर गर्नु आवश्यक छ । उहा त्यो परिमार्जन नै सोनामाई स्थानको सान्दर्भिक समाचार हुन सक्ने बताउछन । आस्था,विश्वास सामाजिक एकाता कि प्रतिक आदि शक्ति सोनामाई आराध्य मात्र नभई आस्था र अनास्थाबीचको अन्तरद्वन्द र सभ्यताको एकाईसौ शताव्दीको लागि चुनौति पने रहेको वरिष्ट पत्रकार उप्रेती बताउछन ।
झिझिया र सोनामाईको भुतमेला हाम्रो धरोहर हो तर यसबाट नकारात्मकता हामीले हटाउनु आवश्यक छ । लोकसंस्कृतीको रुपमा झिझिया प्रोत्साहित हुनु पर्दछ तर बोक्सी भगाउने गितमा परिमार्जन आवश्यक हुन आवश्यक देखिन्छ । हैन भने प्रत्येक वर्ष बोक्सी भनेरै कतिपयले ज्यान गुमाउनु पर्नेछ भने अमानविय व्यवहारको सामना गर्नु पर्ने छ । कतै मलमुत्र खुवाएर त कतै नग्न बनाएर कुटपिट गर्दै गरेको दृष्य पुनः देख्न नपरोस ।
विजय दशमीको शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित समाचार