
महोत्तरी,२२ श्रावण ।
महोत्तरी स्थित सशस्त्र प्रहरीले ८० किलो तयारी गाँजा नियन्त्रणमा लिएको छ । जिल्लाको एकडारा गाउपालिका ३ अजमरपट्टीबाट सशस्त्र प्रहरीले सो गाँजा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल चेक प्वाईन्ट एकडाराबाट खटिएको पैदल गस्ती टोलीलाई देखेर नेपालबाट भारततर्फ टाउँकोमा बोकि लैजादै गरेको रातो पोका छाडी केहि मानिसहरु भागेकोमा सशस्त्र प्रहरीले उक्त पोकाहरु नियन्त्रणमा लिई चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
६ पोकामा रहेको अन्दाजी ८० किलो गाँजा सशस्त्र प्रहरीले थप अनुसन्धान तथा कार्यवाहीको लागि जिल्ला प्रहरी कार्याल्य पठाएको सशस्त्र प्रहरी बल,नेपाल नं. ९ हेडक्वाटर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक लेखनाथ खनालले बताए । उनले लागुऔषध नियन्त्रणको क्रममा सशस्त्र प्रहरीले विभिन्न समयमा गाँजा तथा अन्य लागुऔषधहरु नियमित रुपमा पक्राउ गरिरहेको बताए । नेपालबाट तयारी गाँजा भारत जाने र भारतबाट ट्वालेट तथा ईन्जेक्सनहरु नेपाल भित्रिने गरिएकोमा पछिल्लो समय सशस्त्र प्रहरीले सिमामा निगरानी बढाए र यसको सकारात्मक परिणाम समेत देखिएको थपे ।