रञ्जन भण्डारी
महोत्तरी ।
मटिहानी नगरपालिका कृषी कर्मको लागि नाम चलेको पालिका हो । यहाको तरकारी खेती देखि मखान खेतीसम्म प्रसिद्ध छ भने माछाकै लागि समेत मटिहानीमा पर्याप्त पोखरीहरु छन । खेतमा पसिना बगाउन थोरैपनि नहिच्किचाउने मटिहानीका कृषक भने यस भेगकै तरकारीको मांग पुर्ति गर्न सक्षम भएपनि पर्याप्त साधन स्रोत र सरकारको अपेक्षाकृत सहयोग भने पाउन सकेका छैनन ।
तथापी केहि कृषक वाहेकका अधिकाँशले बिना कुनै सहयोग र अनुदान उदाहरणिय खेती गर्न भ्याएका छन । तरकारी खेतीकै लागि मटिहानीका ९ वडा मध्ये वडा नं. ३ र ६ परिचित छ । सो मध्ये समेत वडा नं. ३ (बरदाहा) का अधिकांश खेत तरकारी कै विभिन्न प्रकारले भरिभराउ देखिन्छन । काउली,भान्टा,गोलभेडाले अहिले बरदाहाका खेतहरु भरिएको छ भने कृषकहरु सोहिमा मलखाद,पानी हाल्न,गोडमेल गर्न र बेच्नको लागि तयारी तरकारी काट्न व्यस्त रह्ने गरेका छन ।
तरकारी खेतीबाटै बरदाहाका मकवुल कवारीले छोरालाई सिभिल ईन्जिनियर पढाउन सकेका छन । दुई वर्ष पहिले पढाई सकेर जागिरको लागि प्रयास गरिरहेका मकवुलका छोरा २१ वर्षिय मोहम्मद जुवेर आलम फुर्सतको वेला बुवा आमालाई खेतीमा सघाउदै आएका छन ।
मकवुलका जेठा छोराले वैदेशिक रोजगारीबाट पठाएको पैसा बचत गर्न र सम्पत्ति जोड्न सकेको बताउने उनले तरकारी खेतीबाट परिवारको अन्य खर्च धान्ने गरेको थप्छन । तर हालसम्म तिन तहको सरकार मध्ये कुनैले पनि तरकारी खेतीमा कुनै सहयोग नगरेको उनको भनाई छ । उनी वडामा र नगरमै आउने मलखाद्य र बिउ बिजन समेत हालसम्म नपाएको बताउछन ।
तर तरकारी नगदेबाली भएको र समयमै बजारसम्म पुर्याउन सके राम्रै आम्दानी हुने गरेकोले बरदाहाका कृषकहरु तरकारी खेतीप्रति उत्साहित छन । समय समयमा तरकारीमा लाग्ने विभिन्न रोगले भने सताउने गरेकोमा औषधी तथा अन्य विभिन्न उपायहरु गर्ने गरेको मकबुल बताउछन । यता निलगाई र जंगली सुँगुरले भने तरकारी खाईदिने गरेको पिडा समेत किसानहरुको छ ।
सरकारले विभिन्न कार्यालय र निकाय मार्फत सिंचाई,मलखाद्य तथा विभिन्न प्रविधियुक्त उपकरणहरुमा रकम खर्चेको हिसाव देखाई रहदा दुई विग्हा जग्गा हुने कमबुलसम्म त्यसतो अनुदान र राहत पुग्न नसक्नु सरकारको निति वा किसानसंगको समन्वयमा कमि भएको देखिन्छ । तथापी कमबुल जस्ता किसानले आफ्नै पौरखले भ्याएसम्म आफ्नो खेतलाई बाझो हुन दिएका छैनन ।
यता उनकै भाई सकबुल कवारीसंग समेत डेढ विग्हा जग्गा छ । दाई जस्तै उनी समेत श्रीमति र छोरा छोरीको सहयोगमा खेतमै व्यस्त रह्ने गरेका छन । समाचार संकलनकै लागि हामी पुग्दा उनी खेतमा खाद्य हाल्दै भेटिए । उनका श्रीमति र छोरा दम्कलले खेतमा हालिएको पानी खेतको सवै तिर छर्कदै भेटिए । परिवारको मुख्य आयस्रोतको माध्यम नै तरकारी खेती भएकोले परिवार नै सकबुलको सहयोगी भएका छन । खेतमा परिवारकै सदस्यहरुले काम गर्न नभ्याएपछि मकबुल र सकबुल लगायत सो क्षेत्रका अन्य कृषकहरुले दैनिक ज्यालादारीमै समेत मानिस राखेर खेतीलाई निरन्तरता दिदै आएका छन ।
सरकारी अनुदान पाउन आफ्नो कृषी कर्मलाई फर्मको रुपमा दर्ता गर्नु पर्ने र खेती गर्दा समेत बिमा गर्नु पर्ने भएपनि उनीहरु दर्ता भएकैहरुले अपेक्षाकृत अनुदान र सहयोग नपाएको भन्दै पंछिने गरेका छन । सकबुल थप्छन,“हामी खेतमा काम गर्नु कि अडडा धाउनु ? खेतमै काम गर्न समय ठिक्क परेको छ । बिहान उठे देखि पुर्ण समय खेतीमै केन्द्रित हुन्छ । आफुले न त बिमा गर्न नै जानेको छु । स्थानिय सरकारले हालसम्म किसान कार्ड समेत दिएको छैन । गाउ गाउमा सिंह दरबार यदि सरकारले पुर्याएको हो भने किसानको लागि खेतमै कागजी प्रकृया र सहयोग पुर्याईदिनु उपयुक्त होला । ”
मुसलिम समुदायको बाहुल्यता रहेको वडा नं. ३ मा मुसलिम समुदायकै अधिकांश कृषकहरु तरकारी खेतीमा निर्भर छन । जग्गा हुने कृषकको आम्दानी पनि सन्तोष जनक नै छ । कृषकहरु आफ्नो कर्ममा विश्वास रहेकोले कतैबाट अनुदान वा सुविधा नपाएपनि कर्म न छाड्ने पक्षमा छन ।
यस्तो छ मटिहानीको तरकारी खेती, तथ्यांकमा ः
महोत्तरीमा कुल ६७ हजार ३५२ हेक्टर जग्गामा खेती हुने गरेकोमा मटिहानी नगरपालिकामा २ हजार ६४८ हेक्टर जग्गामा खेती हुने गरेको छ । सो मध्ये वर्षे र हिउदे तरकारी पाचसय हेक्टर भन्दा वढी क्षेत्रफलमा हुने गरेको कृषी ज्ञान केन्द्र महोत्तरीले आर्थिक वर्ष २०७७।७८ मा निकालेको जिल्लाको कृषी तथ्यांक पुस्तिकामा उल्लेख छ । सोहि आर्थिक वर्षको तथ्यांक अनुसार खेती हुने क्षेत्रफल मध्ये ९१ हेक्टरमा पुर्ण सिचाईको व्यवस्था छ भने २१५५ हेक्टरमा आशिंक सिंचाईको व्यवस्थापन छ । अझै ४०२ हेक्टर जग्गामा सिंचाईको व्यवस्था हुन सकेको छैन ।
तर किसान भन्दा व्यापारी मस्त ः
कृषकले खेतमा पसिना वगाएर उत्पादन गरेको तरकारी बेच्न भने मटिहानीका कृषकहरुसंग पर्याप्त बजार छैन । मटिहानी नगरपालिका स्थित एक बजार बाहेक अन्य केहि गाउमा साना बजारहरु छन तर ति बजारहरुमा समेत व्यापारीकै हालीमुहाली छ । कुने ठाउमा व्यवस्थित बजार नहुदा उनीहरुले उत्पादन गरेको तरकारी व्यापारीको माध्यमले अन्य बजारहरुमा पठाउने बाध्यता छ । यहि ठाउमा उत्पादन भैरहेको तरकारी जनकपुर,पिपरा,सहोडवा,पर्सा,वसहिया र फुलगामा लगायतका बजारमा पठाउदा सोहि स्थानहरुमा कृषकको सिधा पहुच छैन । कृषकले व्यापारीहरुलाई खेतमै वा बजारको छेउमा लगेर उत्पादित तरकारी बेच्ने र सो पछि व्यापारीले उपभोक्तालाई बेच्ने भएकोले कृषकसंग किनिएको मोल भन्दा निक्कै महंगोमात्र उपभोक्ताको भान्सासम्म तरकारी पुग्ने गरेको छ ।
यता भारतबाट आउने तरकारीले समेत मटिहानीका कृषकलाई सास्ती नदिएको हैन । मटिहानीका कृषकले लागत अनुसार थोरै वढी पैसा व्यापारीसंग मांंग्न खोज्दा व्यापारीले भारतिय बजारबाट सस्तो मै तरकारी ल्याएर बजार भरिदिन्छन । यसले मटिहानीका कृषकको तरकारी खेतमा कुहिने सम्भावना वढ्छ ।
समग्रमा मटिहानीको कृषकहरु किसान कार्ड सहित कृषी क्षेत्रमा तिन तहकै सरकारको लगानीको मांग गर्दैछन । आफ्नो वा परिचित कृषक भन्दा पनि सवै कृषकलाई उसको खेतीको आवश्यक्ता हेरी स्थानिय,प्रदेश वा केन्द्र सरकारबाट सहयोग प्राप्त हुन सक्नु पर्दछ ।
स्थानिय सरकारको ध्यानाकर्षण ः
मटिहानी नगरपालिकाले आफुहरुको आफ्नो कृषकहरु प्रतिको ध्यानाकर्षण रहेको बताउदै आएको छ । गत कार्यकालमा समेत कृषीमा राम्रै काम गरेपनि अपेक्षाकृत सहयोग गर्न नसकेको बताउने मटिहानीका मेयर हरि प्रसाद मण्डलले यस पटक भने आफुले कृषीलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरु बनाएको र सोहि अनुरुप कामहरु गरिरहेको बताए । उनले सरकारी अनुदान तथा अन्य सहयोगको लागि कृषकहरुलाई दर्ता प्रकृया वा समुह निर्माण गरि अगाडी बढ्नु पर्नेमा सवै कृषकहरुले सोहि अनुरुप गर्न नसकेकोले उनीहरुको तथ्यांक संकलन अझै पनि प्राथमिकतामा रहेको बताए ।
उनले कृषी मिटर,सिंचाई,उपकरण र बिउ बिजन तथा खाद्यकै लागि समेत मटिहानी नगरपालिकाले भुमिका निर्वाह गरिरहेकोमा अबको केहि समयमै कृषकहरुले स्थानिय सरकारको अनुभुति गर्ने मेयर मण्डलले बताए ।
“हामीले किसान कार्डको लागि वडा नं. १,२ र ३ को तथ्यांक संकलन गरिसकेका छौ । अरु वडाको समेत तथ्यांक संकलनको काम हुदै छ । चाडै सवै कृषकलाई एउटा प्लेटफर्ममा जोड्छौ र मटिहानीमा उत्पादन हुने तरकारी जिल्लाकाका अन्य पालिका तथा जिल्ला वाहिर समेत एकमुष्टमा पुर्याउने व्यवस्था मिलाउछौ ।”,मटिहानी नगरपालिकाका कृषी शाखा संयोजक टंक प्रसाद उपाध्यायले बताए ।
ज्ञान केन्द्रसंग जोडिएका कृषक लाभान्वित ः
यता कृषी ज्ञान केन्द्रसंग जोडिएका कृषकहरु भने लाभान्वित हुने गरेको कृषी ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख डा.रामचन्द्र यादवले मटिहानी नगरपालिकाबाट अनुदानको लागि आएको निवेदन मध्ये कुनै पनि फिर्ता नभएको र सवैलाई लाभ दिइएको बताए । उनले विभिन्न समयमा कृषी आधुनिकिकरणको लागि कार्यालयबाट उपलब्ध हुदै आएको सेवा लिन आवेदन लिएर आएका कृषकहरुको शत प्रतिशत निवेदन स्विकार गरेर कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा प्रदान गरिएको बताए । तर अझै पनि धेरै कृषक ज्ञान केन्द्रसंग जोडिन बाकि रहेकोमा स्थानिय निकायले समेत समन्वयात्मक भुमिका निर्वाह गरि कृषकहरुको पहुच यहासम्म बनाईदिन आवश्यक रहेको उनले थपे । “हामीले पटक पटक ब्लक कार्यक्रम गर्न मटिहानीका कृषकहरुसंग छलफल समेत गर्यौ तर कार्यक्रमको लागि लालपुर्जाको फोटोकपी माँग्दा कृषकहरुले उपलब्ध गराईदिनु भएन । यहा स्थानिय निकायले समेत कृषकहरुलाई डोर्याउन सक्नु पर्नेमा स्थानिय तहले यहा भुमिका निर्वाह गर्न नसक्दा कृषकहरु यस कार्यक्रमबाट बन्चित हुनु परेको छ ।
त्यसतै प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालयका प्रमुख वरिष्ट वाली अधिकृत ललन कुमार सिंहले महोत्तरीका विभिन्न आठ पालिकामा आफ्नो कार्यक्रम रहेको वताए । उनले मटिहानीमा हालसम्म कार्यक्रम नरहेपनि जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सुचारु रहेको र यसकै समेत मुल्यांकन भैरहेको बताए ।
कार्यालय प्रमुख सिंहले कृषी क्षेत्रमा अझै धेरै सुधारका कार्यक्रमहरु संचालन गर्नु आवश्यक रहेको बताउदै कृषी क्षेत्रमा ईमान्दारीका साथ सवै निकायले भुमिका निर्वाह गरे निश्चय पनि यहा कृषी कर्म गरेरै धेरै प्रगती गर्नु पर्ने सम्भावना रहेको बताए । उनले कृषी ऋणको सरल व्यवस्थापन,आधुनिक तरिका र उन्नत प्रविधीबाट खेतीको सिप तथा कृषीमा निर्भरहरुको संख्यामा कमी ल्याई ठुलो परिमाणमा व्यवसायिक खेतीलाई प्रोत्साहनको आवश्यक्ता रहेको थपे ।
यहा कृषकले उत्पादन गरेको सामग्री समेत बजारसम्म कसरी पुर्याउने भन्ने स्किल डेभेलप गर्नु पर्ने आवश्यक्ता रहेको उनको भनाई छ ।