महोत्तरी,२५ कार्तिक ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि महोत्तरीमा तोकिएको २५८ मतदान स्थल र ४९९ मतदान केन्द्रको सुरक्षार्थ चाहिने प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीषक मसाउद आलम खाँले ब्रिफिंग गर्दै कार्यक्षेत्रमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रांगणमा उपस्थित निर्वाचन प्रयोजनको लागि खटिएका सम्पुर्ण प्रहरी युनिटलाई स्वच्छ,निष्पक्ष र शान्तिपुर्ण निर्वाचन सम्पन्न गराउन आफ्नो उत्कृष्ट जिम्मेवारी पुरा गर्न निर्देशन दिदै तथा सफलताको शुभकामना व्यक्त गर्दै खटिएको सम्पुर्ण प्रहरीलाई तत्काल आफ्नो मतदान स्थल र केन्द्र नजिकको प्रहरी कार्यालयमा बस्ने गरि कार्यक्षेत्रमा पठाएका हुन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कृष्ण पंगेनीले समेत निर्वाचनको सुरक्षाको मुख्य जिम्मेवारी प्रहरीकै काँधमा रहेकोले आफ्नो ड्युटीमा कुनै किन्तु परन्तु नगरि कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिए । निर्देशन पछि म्यादी सहितको सम्पुर्ण प्रहरी शुक्रवार नै आफ्नो कार्यक्षेत्र तर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२५८ मतदान स्थलको लागि ४ हजार भन्दा वढी म्यादी सहितको प्रहरी खटाइए ः
तिन लाख ९७ हजार ३० मतदाताले महोत्तरीका विभिन्न २५८ मतदान स्थल र ४९९ मतदान केन्द्रबाट प्रत्यक्ष तर्फ चार प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य तथा समानुपातिक सदस्य समेतको लागि मतदान गर्न मंसिर चार गते निर्वाचनको मिति तोकिएकोमा मतदाता,उम्मेदवार,मतदान स्थल,मतदान केन्द्र र मतपत्र तथा मतदानको सम्पुर्ण सुरक्षाको भित्री घेरा भित्र रहि सुरक्षा गर्ने र निर्वाचन भयरहित तथा शान्तिपुर्ण सम्पन्न गराउन २८०१ म्यादी प्रहरी र १४५० नेपाल प्रहरी परिचालित गरिएको छ । म्यादी प्रहरीको जिम्मेवारी मतदान समाप्त भएर मतगणना चल्दै गर्दा समाप्त हुनेछ भने नेपाल प्रहरीले ड्युटीलाई निरन्तरता दिनेछन ।
निर्वाचन सम्पन्न गराउन सुरक्षाको हिसावले सामान्य श्रेणीमा परेको मतदान केन्द्मा ९ जना प्रहरी खट्ने छन भने संवेदनसिल मतदान केन्द्रमा ९ जना प्रहरी परिचालित हुनेछन । यस्तै अति संवेदनसिल मतदान केन्द्रमा १२ जना म्यादी सहितको प्रहरी परिचालित हुनेछन । सो वाहेक थप ५ जनाको दरले प्रहरी प्रत्येक मतदान केन्द्रमा खटाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी पंगेनीले वताए ।
महोत्तरीमा सामान्य मतदान स्थल संख्या १,संवेदनसिल मतदान स्थल संख्या ११४ र अतिसंवेदनसिल मतदान स्थल १४३ रहेको छ । भारतसंग जोडिएको महोत्तरीको सिमा नजिकको सवै मतदान स्थललाई अतिसंवेदनसिल मतदान स्थलको श्रेणीमा राखिएको एसपी पंगेनीले वताए ।
कारागार समेत मतदान स्थल ः
यता निर्वाचन आयोगले कैदी बन्दीले समेत मतदान गर्न पाउने निर्णय गरेकोमा जलेश्वर स्थित कारागारमा कैदी जिवन विताईरहेका पाचसय हाराहारीमा रहेको कैदीबन्दी मध्ये २४ जनाले समेत मतदान गर्न पाउने छन । मतदान गर्न सक्ने कैदीको संख्या अत्यधिक रहेपनि २४ जनाले मात्र आवश्यक कागजात उपलब्ध गराउन सकेकोले कागजात उपलब्ध गराएको २४ जनाले नै मतदान गर्न पाउने जलेश्वर कारागारका जेलर रामचन्द्र साहले वताए ।