महोत्तरी ।
राणाकालिन जलेश्वर कारागारमा रहेका ६० वर्ष उमेर पुरा भएका २७ जना र सरसफाई तथा आन्तरिक सुरक्षामा रहेका कैदीबन्दी लगायतका विभिन्न जिम्मेवारी बोकेका थप ५ कैदी गरि कुल ३२ कैदी बन्दीलाई कारागार कार्यालयको तर्फबाट सम्मान गरिएको छ । विजया दशमी,दिपावली तथा छठ पर्वको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । जलेश्वर कारागारका कार्यालय प्रमुख (जेलर) रामचन्द्र साहले उनीहरुलाई सम्मान गरेका हुन ।
कारागार भित्र रहि राम्रो आचरण देखाएका उनीहरुलाई चाडपर्वको अवसर पारेर सम्मान गरिएको जेलर साहले वताए । उनले कारागारलाई सुधार गृहको रुपमा व्याख्या गरिएकोमा विभिन्न मुद्दामा सजाय भोगिरहेका तथा पुर्पक्षको लागि थुनामा रहेका कैदीहरुलाई फलफुल लगायतका पौष्टिक आहार सहित गमछा ओढाएर सम्मान गरिएको हो । कैदीबन्दीसंगै जलेश्वर कारागार सुरक्षामा खटेका सुरक्षाकर्मीलाई समेत सम्मान गरिएको थियो ।
जलेश्वर कारागारमा कुल पुरुष कैदी ५२४ रहेकोमा सो मध्ये ६० वर्ष पार गरेका २७ जना कैदी छन । यता राणाकालिन उक्त कारागारमा विगतमा महिला कैदी समेत रह्ने गरेकोमा महिला तर्फको भवन जिर्ण भई खसेपछि महिला कैदीहरुलाई सिन्धुली कारागार सारिएको थियो । ठाउ अभावमा तेब्बर कैदीको भार झेल्दै आएको जलेश्वर कारागारले महिला कैदी अन्यत्र सारिएपछि पुरुष तर्फका केहि कैदी सोहि भित्र सामान्य भवन बनाई सारिएको छ । हाल सोहि क्षेत्र भित्र खाना बनाउने मेस समेत सारिएपछि कैदीबन्दीहरुलाई थप राहत भएको छ भने कारागार भित्र थप ६ शौचालय समेत निर्माण भएको छ ।
यता सुधार गृहको रुपमा रहेको कारागार भित्र पुस्तकालय समेत रहेको छ भने कारागार भित्रकै कैदी मध्येका चिकित्सकहरुले कैदीहरुको सामान्य उपचार समेत गर्दै आएका छन । कारागार भित्र हरेक मंगलवार भजनसंगै अहिले ९ दिवसिय रामनाम संकिर्तन नवाह समेत संचालनमा रहेको छ ।