रञ्जन भण्डारी
महोत्तरी,७ असोज ।
घास काट्न गएकि एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुनको शव विभत्स हत्या भएको अवस्थामा फेला परेको हो । शुक्रवार बिहान १०÷११ बजे तिर घास ल्याउन भनि खेत(चौर) तिर गएकि अमिना दिनभरि घर नफर्किएपछि परिवार तथा गाउलेहरु दिनभरी उनको खोजी गरेकोमा नभेटिएपछि प्रहरी समेतको सहयोगमा खोजीलाई निरन्तरता दिएकोमा राती करिव १०ः३० मा उनको शव फेला परेको हो ।
मृतक महिलाको घरबाट झण्डै एक किलोमिटर भन्दा वढी दुरीमा रहेको वस्ती भन्दा दक्षिण खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । घटना स्थल सडक भन्दा निक्कै भित्र रहेको प्रहरीको भनाई छ ।
यता घटना वारे जानकारी पाए लगतै घटना स्थल पुगेका मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले महिलाको विभत्स हत्या भएको बताउदै शव भरि रगत देखिएको र हरेक अंगमा चोटपटक जस्तो देखिएको बताए ।
यता जिउभरि नै चोटको निसान देखिएपनि हाथहथियार वा अन्य के कस्तो वस्तुको प्रयोग गरेर हत्या गरिएको हो भन्ने वारे तत्काल बताउने अवस्था नरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । उनले शव राती फेला परेको र घटना स्थल मुचुल्का समेत उठाउनु पर्ने भएकोले सम्भवः राती सोहि ठाउमा शवको सुरक्षा गर्ने र विहानमात्र मुचुल्का लगायतको कार्य गर्ने सम्भावना रहेको उनले वताए । तथापी घटना वारे अनुसन्धान सुरु भैसकेको र आफ्नो अनुसन्धान टोली घटनावारे विस्तृत र सत्य तथ्य पत्ता लाउन लागिसकेको बताए ।
मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।