रञ्जन भण्डारी
हो हामी कुरा गर्दै छौ २०३६ सालको, जव विद्यार्थी आन्दोलन आफ्नो रफ्तारमा थियो । नेवि संघका विद्यार्थी नेताहरु पंचायती व्यवस्था अन्त्य गर्न आन्दोलनमा होमिएका थिए । सोहि वेला एक विद्यार्थी नेता, राष्ट्रवादी मण्डलेको आक्रमणमा घाईते भई उपचारको क्रममा मृत्यु भएको खवर फैलियो र देशैभरि शोकसभासंगै आन्दोलनको रोकि नसक्ने आँधीवेरी चल्यो । हो हामी कुरा गर्दै छौ, महोत्तरीको क्षेत्र नं. २ हालको बल्वा नगरपालिका १० भगवतीपुर निवासी जिउदो शहिदको नामले चिनिएका नेपाली काँग्रेसका अगुवा नेता पुर्व साँसद महेन्द्र यादव मधुकर को ।
नेपाली राजनितिमा सालिन एवं विकास प्रेमी छवि बनाउन सफल नेता महेन्द्र मधुकर वि.सं. २०२८ देखि नै ने.वि. संघमा सकृय छन । उनले २०२९ साल देखि छात्र आन्दोलनमा सकृय सहभागिता जनाएका थिए । सोहि समय शहिद सरोज कोईरालाको हस्ताक्षरयुक्त नेपाली काँग्रेसको सदस्यता उनले प्राप्त गरे । सोहि वेला आफ्नो अध्ययन र राजनितिलाई संगै लिएर अगाडी वढीरहेका नेता मधुकर २०३६ साल वैशाख ४ गतेको छात्र आन्दोलनको क्रममा जनकपुर स्थित रा.रा.ब. क्याम्पसमा आन्दोलनको क्रममा तत्कालिन राष्ट्रवादी मण्डलेहरुको आक्रमणमा परि घाईते भए ।
घाईते मधुकरको सोहि बेला वेहोसीकै अवस्थामा १५ दिन आवाज नै आएन । सायद बाच्छन कि भनेर उनलाई तत्काल भारत लगियो तर केहि दिन उनको खवर आएन । पछि उनको मृत्यु भएको भनेर हल्ला चल्यो र देशैभर उनलाई श्रद्धान्जली दिदै शोकसभा आयोजना गरियो र आफ्नो सकृय छात्र आन्दोलनकारीको मृत्युले तातेका तत्कालिन युवाहरुले आन्दोलनको राको झनै दन्काउदै लगे । उनी मरेकै खवर देशमा फैलिएर आन्दोलन दिनदिनै झनै चर्किरहदा जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो ।
एक महिना भन्दा वढी समयको सघन उपचारले बाचेका मधुकर नेपाल फर्कदा आन्दोलनकारी छात्रहरुले उनलाई जिउदो शहिद भनेर सम्बोधन गरे र सोहि वेला देखि जिउदो सहिदको उपमाले उनी राजनितिमा परिचित छन ।
नेता मधुकर २०३६ सालको जनमत संग्रह पछि महोत्तरी नेवि संघको जिल्ला सभापतिको रुपमा वहुदलको पक्षमा वि.पी.,गणेशमान,के.पी.जी.पी लगायतका नेताहरुको कार्यक्रम महोत्तरीमा संचालन गर्न सफल भए । सो पछि रा.रा.ब. क्याम्पस युनियनको निर्वाचनमा समेत ने.वि.संघबाट युनियन सभापतिमा विजयी मधुकर २०४२ देखि २०४६ को पंचायती विरोधी आन्दोलनको क्रममा पटक पटक गरि तिन वर्ष ६ महिना भन्दा वढी समय जेल जिवन विताए । कारागारमा र थुनुवामा समेत तत्कालिन राजावादी सुरक्षाकर्मीहरुले दिएको असहय यातना भने अझै नेता मधुकरले भुल्न सकेका छैनन ।
यता यातना सहेर पनि पंचायति व्यवस्था विरुद्ध आन्दोलनमा सकृय रहेका उनी २०४७ मा वहुदलिय व्यवस्था स्थापना पश्चात प्रथम स्थानिय निर्वाचनमा पार्टीको उम्मेदवार भई तत्कालिन जिल्ला विकास समितिको उपसभापति पदमा अत्यधिक मतका साथ विजयी भए ।
सो उपरान्त २०५६ सालमा आम निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार भई प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए र आफ्नो साँसद पदको अवधिमा कानुन न्याय तथा संसदिय व्यवस्था समिति र परराष्ट्र मामिला एवं मानव अधिकार जस्ता संसदिय समितिको अध्यक्ष पदको जिम्मेवारी वहन गरे । उनले तत्कालिन राजा ज्ञानेन्द्रले संसद विघटन गर्दा नेपाली काँग्रेसले गरेको आन्दोलनमा समेत सकृय रुपमा सहभागि थिए ।
२०६२÷०६३ को जनआन्दोलन पश्चात पुर्नस्थापित,स्थापित व्यवस्थापिका साँसद सदस्यको रुपमा समेत कार्यगरेका नेता महेन्द्र मधुकर पार्टीको सच्चा सिपाही हुदा हुदै पनि आफ्नैबाट ओझेलमा परे । कहिले गुरु भनेर त कहिले उनको हात जोरेर नै नेताहरुले उनको टिकट खोस्दै गए । आज पार्टी भित्र सकृय रहेर पनि नेता मधुकर आदर्शकै कारण समेत पछाडी परेको अनुभुति गर्दैछन ।
महोत्तरी तथा यस क्षेत्रमै सम्मानको साथ नेपाली काँग्रेसभित्र उनको नाम लिने गरिएपनि अवसर भने अरुले नै पाउदै गए । उनी भन्छन,“विद्यार्थीकाल देखि नेवि संघ र नेपाली काँग्रेस वाहेकको पार्टी कस्तो छ भनेर देखेको छैन । आजिवन यहि पार्टीमा रहेर देश र जनताको सेवामा तल्लिन भए । पार्टीले जुन जुन वेला मौका दियो आफ्नै जनताको सेवामा समय खर्चे । र अहिले पनि पार्टी भित्र सकृय भुमिका निर्वाह गर्दैछु । तथापी पार्टीले पार्टीमा गरिएको योगदान र समर्पणको कदर गर्न कन्जुस्याई गरेको हो कि भनेर लागेको छ ।”
उनी थप्छन,“पार्टी भित्रका वौद्धिक वर्गको अझै पनि आफुप्रति विश्वास रहेपनि र उनीहरुले आफ्नो वारे बुझेपनि सायद नयाँ आएकाहरुले अवसर खोज्ने क्रममा पुरानाको योगदानको कदर गर्न विर्से कि ?”
वर्षौ देखि नेपाली काँग्रेस महोत्तरीको राजनितिलाई नियाली रहेका नेता महेन्द्र मधुकर भने पुनः प्रतिनिधी सभा सदस्यको लागि आफ्नो उम्मेदवारी दिने निर्णय सहित पार्टीमा टिकटको लागि आवेदन दिएका छन । सोहि टिकटको सिफारिसकै लागि आफ्नो नाम माथि पठाउन पार्टीमा आपत्ति जनाउनु परेकोमा उनले टिकट पाउने न पाउने भन्ने विषय अझै विचाराधिन छ । तर पुनः आफ्नो पार्टीभित्रको अस्तित्व खोज्दै गरेका नेता महेन्द्र मधुकरले पार्टीले आफ्नो योगदानको कदर गर्ने र टिकट आफुले पाउनेमा आफु पुर्ण आशावादी रहेको बताउछन ।
क्षेत्रमा राम्रो पकड रहेका नेता महेन्द्र मधुकर वेदाग र जनतामाझ सम्मानित नेताको रुपमा परिचित छन । उनको उमेरका उनको गाउको जनताले अझै सोहि वेलाको पंचायति कालको विरुद्ध लड्ने योद्धाको रुपमा उनलाई चिनेका छन ।