रञ्जन भण्डारी
महोत्तर,७ भदौ ।
ड्युटीकै बखत वा आराम गर्ने शयन कक्षकै कुरा गर्दा समेत महोत्तरी प्रहरीको अवस्थ कहाली लाग्दो छ । कतै खाद्य संस्थाको गोदाम घर त कतै माटोको कच्ची पुरानो घरमा ड्युटी र शयनकक्ष समेत हुदा प्रहरीले समेत सास्ती भोग्नु परेको छ । वर्षामै समेत पुरानो भवनहरुमा सर्पकै डर त कतै छानोबाट चुहिने पानीले ओछ्यानमै भाडो लिएर सुत्नु पर्ने बाध्यतालाई प्रदेश सरकारले बुझदै विस्तारै नयाँ भवनहरु बनाउन थालेको छ । यहि क्रममा मंगलवार विहान प्रदेश सरकारले बनाईदिएको दुई ठाउको कार्यालयको भवन तथा प्रहरी बस्ने व्यारेक बनाइदिएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले मंगलवार ईलाका प्रहरी कार्यालय लोहारपट्टी र प्रहरी चौकी ईटहर्वा कट्टीको उदघाटन गर्दै गर्दा प्रहरीको बसाई र ड्युटी कार्यालय लगायतको समस्या वारे प्रदेश सरकार जानकार रहेको बताउदै क्रमिक रुपमा महोत्तरीका प्रहरी कार्यालयहरुमा भौतिक संरचना निर्माण गर्दै जाने बताएका छन । उनले जनताको सेवाको लागि रहेको प्रहरीले चौकीहरुमा भवन अभावमा भोग्नु परेको पिडा आफुले बुझेकोले सरकारले क्षमता अनुसार भवनहरु थप्दै जाने बताए । जस्तोसुकै अवस्थामा समेत प्रहरीले न्याय र कानुनको रक्षा गर्नु उनको जिम्मेवारी भएको र त्यो प्रहरीले निभाईरहेको बताएका थिए ।
मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण,मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मकसुद आलम खाँ,प्रदेश साँसद जयनुल राईन र जानकी शरण साह,पालिका प्रमुखहरु तथा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहितका विशिष्ट अतिथीहरुको उपस्थितिमा नयाँ भवन उदघाटन गरेका मन्त्री साहले प्रहरीलाई विस्तारै साधन स्रोत सम्पन्न बनाउदै लगिएको समेत आफ्नो मनतव्यमा बताएका छन ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले प्रदेश सरकारले प्रहरीको समस्या बुझदै विस्तारै ति समस्याहरु समाधान गर्दै लगिरहेकोमा प्रदेश सरकार प्रति आभार व्यक्त गरे । उनले अभावै अभावमा रहेर पनि देश र जनताको सेवामा तल्लिन प्रहरीकै लागि समेत सोचिदिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिन भ्याए ।
महोत्तरीमा एक जिल्ला प्रहरी कार्यालय,एक जिल्ला ट्राफिक प्रहरी कार्यालय,जलेश्वर ट्राफिक कार्यालय सहितको बलवा,गौशाला,रामगोपालपुर,खैरबनी लगायतका केहि स्थानमा ट्राफिक को पोष्ट तथा ९ ईलाका प्रहरी कार्यालय, २१ प्रहरी चौकी,४ अस्थाई प्रहरी पोष्ट र एक प्रहरी बिट रहेको छ ।
उक्त प्रहरी कार्यालयहरु मध्ये जिल्ला प्रहरी कार्यालय सहित हालसम्म ९ प्रहरी कार्यालयहरुको नयाँ भवन रहेको छ भने अझै २५ भन्दा वढी प्रहरी कार्यालय पुरानो,जिर्ण,भाडाको घरमा,खाद्य संस्थाको गोदाममा,कच्ची माटोको घरमा र केहि स्थानमा भाडामा वस्दै आएको छ ।