महोत्तरी, ७ भाद्र ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा समयमै खर्च बिवरण नबुझाएका स्थानीय तह निर्वाचन २०७९ का केही उम्मेदवारहरूले मंगलवारसम्ममा स्पष्टीकरण बुझाएका छन् ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने कानुनी प्रावधान रहेपनि बिवरण नबुझाएकोमा कारबाही किन नगर्ने सफाईसहितको स्पष्टीकरण भाद्र ७ गते मंगलवारभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आयोगले सार्वजनिक सूचना जारी गरेको थियो । मंगलवार कार्यालय अवधिभर स्थानीय तह २०७९ का कति जना उम्मेदवारले स्पष्टीकरण बुझाइसकेकोबारे फाइलहरू अध्ययन भइसकेपछि मात्र तथ्यांक सार्वजनिक गर्न सकिने जिल्ला निर्वाचन अधिकृत सुबोध कुमार महतोले बताए ।
महोत्तरी जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाबाट बिभिन्न पदमा उम्मेदवारी दिएकामध्ये २०२ जनाबाहेकका मध्ये केहीले स्पष्टीकरण दर्ता गराएको महतोले बताए । जिल्लाको १५ वटै स्थानीय तहबाट विभिन्न पदमा ४ हजार ८ सय २९ जनाले उम्मेदवारी दिएका थिए । समयमै निर्वाचन खर्च बिवरण नबुझाउने उम्मेदवारमध्ये प्रमुखका १६४, उपप्रमुखका ८९, अध्यक्षका ८५, उपाध्यक्षका ४५, वडाअध्यक्षका १०५१, महिला सदस्य ७९४, दलित महिला सदस्य ७६१ तथा सदस्य १६२० जना छन् ।
अधिकृत महतोले ढिलो गरि निर्वाचन खर्च बिवरण बुझाएकाहरुल मध्ये अधिकांशले स्पष्टीकरण बुझाएको जानकारी दिए । निर्वाचन कार्यालयमा १८ जना उम्मेदरवारले ढिलोगरि बिवरण बुझाएका थिए । ढिलो गरि निर्वाचन खर्च बिवरण बुझाउनेमा गौशालाका निर्वाचित नगरप्रमुख तथा महोत्तरी गाउँपालिकाकी उपाध्यक्ष छिन् ।
समयमै निर्वाचन खर्च बिवरण नबुझाउनेमा औरही, बर्दिवास, भंगहा, रामगोपालपुर र लोहारपट्टिका निर्वाचित नगरप्रमुख तथा गौशालाकी उपप्रमुख छिन् । त्यही सम्सीका अध्यक्ष, उपाध्यक्ष, सोनमाका अध्यक्ष एवं सम्सीकी उपाध्यक्षले समयमै निर्वाचन खर्च बिवरण बुझाएका छैनन ।
समयमै खर्च बिवरण नबुझाउनेमा जिल्लाभरिका १३८ वडाअध्यक्षमध्ये ११३ जना तथा ५५२ वडासदस्यमध्ये ४८० जना रहेको निर्वाचन अधिकारी महतोले बताए ।
निर्वाचन खर्च बिवरण नबुझाउने निर्वाचित गाउँपालिकाका वडाहरूमा एकडारा को ४ र ५, सोनमाको २ देखि ८, पिपराको १ देखि ७, महोत्तरीको २ र ५, सम्सीको १,२ र ४ देखि ७ का छन् । त्यस्तै नगरपालिकाका वडाअध्यक्षहरूमा औरहीको १ देखि ९, गौशालाको १ देखि १२, जलेश्वरको ५,७, ८ र ९ , बर्दिवासको १ देखि १४, बलवाको १, ३ देखि ६ र ८ देखि ११, भंगहाको १ देखि ५ र ७ देखि ९ , मनरासिस्वाको २ देखि ४, ६ र ८ देखि ९ , रामगोपालपुरको १ देखि ९ एवं लोहारपट्टिका १ देखि ९ का छन् ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा सफाइसहितको स्पष्टीकरण बुझाउन आएका स्थानीय तह २०७९ का उम्मेदवारहरूले यस किसिमको नियमबारे जानकारी नभएको, कार्यब्यस्तता रहेको, बिरामी परेकोसहितका समस्या हिमाल खबरलाई सुनाएका थिए ।