महोत्तरीमा प्राय हरेक वर्ष आउने वाढीले जनजिवन अस्त व्यस्त हुनुको साथै भौतिक तथा मानविय क्षति समेत हुने गरेकोमा हालसम्म बाढी आउने मुख्य कारण उपर सरकारले जोखिम न्युनिकरण हुन सक्ने गरि कार्य गर्न सकेको छैन । नदीहरुलाई समान चौडाई र गहिराईमा माथि देखि तलसम्म उत्खनन गरि दुई तर्फको तटबन्धलाई समेत पक्की तटबन्ध बनाउन सके महोत्तरीमा वर्षेनी हुने करोडौको क्षतिका साथै मानविय क्षति समेतलाई न्युनिकरण गर्न सक्ने भएपनि उक्त कार्य गर्न पर्याप्त बजेट राखेर योजना सहित कार्य गर्न सकेको छैन ।
वार्षिक रुपमा बाढीबाट कच्ची तटबन्धमा हुने क्षति कै मर्मत गर्न ३० देखि ४० करोड लाग्ने गरेपनि नेपाल सरकारले तटबन्ध मर्मत तथा निर्माण गर्न आधा भन्दा समेत कम बजेट पठाउदा जिल्लावासीको समस्या भने समाधान हुन सकेको छैन । साथै सरकारले दिर्घकालिन रुपमा क्षति तथा जोखिम न्युनिकरण गर्न आधुनिक प्रविधीको प्रयोग सहितको पक्की योजना समेत कार्यान्वयनमा ल्याउन सकेको छैन ।
प्राविधिकले जिल्लामा बाढीको समस्या समाधान कसरी गर्ने भन्ने कुरा राम्ररी बुझेपनि पर्याप्त बजेट अभावमा आफुहरुले जनताले अपेक्षा गरे बमोजिम कार्य गर्न नसकेको जनतको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका प्रमुख रमेश कर्णको भनाई छ । उनी भैरहेको कामहरु समेतमा ठेकेदार तथा उपभोक्ता समितिहरुको ढिलासुस्ती रहेको स्विकार गर्दै आफुहरुले निरन्तर काम सकाउन उनीहरुलाई घचघच्चाई रहेको बताउछन ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल वाढी मुखमै आईसकेको अवस्थामा समेत जोखिम युक्त स्थानहरुको तटबन्ध र नदी अवलोकन गर्दा मर्मत तथा निर्माण कार्यले सन्तुष्ट नभएको बताउछन ।
बाढीको मुखमा आएर तटबन्ध निर्र्माण र मर्मत गर्नु आफैमा गलत भएको उनको तर्क छ । श्रावण सुरु हुदा नै यस्ता कार्यहरु गर्न सुरु गरिसक्नुपर्ने र असोज कार्तिकसम्म यस्ता कार्यहरु समापन गरेर तटबन्धलाई मजबुत हुन समय दिन सकिने भएपनि बाढीको पानी र नदीमा ओभर लोड हुन लाग्दा र वर्षाले माटो पुर्ण भिजेको अवस्थमा यस्ता कार्य गर्नु प्राविधिक हिसावले समेत उपयुक्त नभएको बताउछन । उनी अनुगमन गरि यस्ता स्थानहरुमा सम्बन्धित कार्यालय र ठेकेदार तथा उपभोक्ता समिति लगायतलाई कडा रुपले बोलेपछि थोरै थोरै उनीहरु काम गर्न थालेको बताउछन । तथापी नेपाल सरकारले यसप्रति थप कडा निर्देशन लागु गर्नु पर्ने उनको भनाई छ ।
यस्तो छ भौगोलिक अवस्था ः
महोत्तरी १००२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । औषत लम्बाई(उत्तर दक्षिण) ५८ किलोमिटर र औषत चौडाई(पुर्व पश्चिम) १८ किलोमिटर रहेको महोत्तरीमा २०६८ को जनगणना अनुसार एकलाख एघार हजार ३१६ घरधुरीमा छ लाख सताईस हजार ५८० मानिस बसोवास गर्छन । यताको मुख्य खोलाहरु रातु,मरहा,जंघा,बांके,विग्ही,भव्सी र अंकुशी रहेको छ भने सो मध्येका रातु,भव्सी,जंघा,मरहा र बाँके चुरेक्षेत्रबाट जन्मेका छन । यता बडहरी,औहरी खोला(विग्ही) धनुषाबाट वग्दै महोत्तरी आउने गरेको छ । यसका अलावा रुपनी,गेरुकी(पुर्व),गेरुकी(पश्चिम),जिवछी,अंकुशी र कन्तवा लगायतका सहायक खोलाहरु महोत्तरीमा छन । वर्षातको समयमा चुरे क्षेत्रबाट ग्राभेल र माटो बगाएर ल्याउने तथा भावर र समथर क्षेत्रमा थुप्रिने गरेको छ । यसले नदीको वेस भरेर ग्राभेल र माटोसंगै आउने पानीले बाटो खोज्दै नदीकै छेउमा तटबन्ध भएको अवस्थामा कमजोर स्थानको तटबन्ध तोडदै मानव वस्ती र खेती योग्य जमिनमा पस्दै विनास गर्छ ।
यस्तो भन्छन विज्ञहरु ः
रातु लगायतको चुरेबाट आएको मुख्य नदीहरुबाट अनियन्त्रित रुपमा ग्राभेलहरु निकालिने गरिएको विज्ञ नागदेव यादव बताउछन । सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष समेत रहेका यादवले कुनै प्राविधिक मापदण्ड विना माटो बालुवा र गिटटी झिक्नाले दुवै साईडको तटबन्धमा हुने ग्यावियनको स्पर र लचिंग झुन्डिईरहेको छ र नियमति भन्दा थोरै वा निरन्तर वर्षा भए बाँधहरु भत्किने सम्भावना प्रवल रहेको वताउछन । उनी नदीको अनियन्त्रित उत्खनन रोक्नु नै अनियन्त्रित वाढी रोक्ने महत्वपुर्ण कार्य भएको बताउछन ।
यता रातुको माथिल्लो तटिय जलाधार क्षेमा पर्ने १०३ खहरेलाई जिपिएस सर्वे गरि ६७ खहरेमा काम गरिसकेको उनी वताउछन । सो मध्ये ५२ खहरेमा भुक्षय करिव करिव पुर्णरुपमा नियन्त्रण भैसकेको अध्यक्ष यादव बताउछन । उनी चुरेमा पैरवी मञ्चले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा गरेको कार्यले हाल करिव ९० प्रतिशत माटो ग्राभेल आउन रोकिएको बताउछन । तर माथिल्लो क्षेत्रमा कामहरु सफल भएपनि जनताकै तटबन्धको लापरवाहीले तल्लो क्षेत्रमा भने तटबन्ध मजवुत बनाउन नसकेको उनी बताउछन । वर्षा सुरु भएपछि वैशाख जेष्ठ र असारको महिनामा तटबन्धमा माटो हाल्ने काम हुने गरेको र त्यसले पानीको वेग थेग्न नसकी तटबन्ध टुटने गरेको उनी बताउछन । विज्ञ यादवले तल्लो क्षेत्रमा जनताको तटबन्धले बजेट नभएको लगायतको विभिन्न कारण देखाई तटबन्ध निर्माण नगर्नाले अझै बाढी आउदा क्षति उच्च हुने बताए । उनले तटबन्ध माटोले मात्र मजबुत हुन नसक्ने बताउदै तटबन्धमा वृक्षारोपनका साथै मजवुत र ठोस तटबन्ध निर्माण आवश्यक रहेको बताउछन ।
बाढी नियन्त्रणकै लागि जिल्लामा ठोस योजना नरहेकोमा बाढीबाट बचावको लागि भने जिल्ला तयारी गर्दैछ । बाढी आईहाले न्युन जोखिम र क्षति होस भनेर जिल्ला स्थित विपद व्यवस्थापन समितिले अनुगमनको आधारमा विभिन्न वैठकहरु गरि केहि महत्वपुर्ण निर्णयहरु गरेको छ ।
जिल्ला विपदले आकस्मिक वैठक बोलाई गर्यो यस्तो निर्णय ः
मनसुन सुरु भएसंगै महोत्तरी स्थित मुख्य नदीहरु रातु,मरहा,विग्ही,अंकुशी,कुटमेश्वरी र भव्सी लगायतमा पानीको वहाव वढ्न गई छेकवारको रुपमा रहेको तटबन्ध नै डुवान वा कटान गरि मानव वस्तीलाई क्षति पुरर्याउन सक्ने हुन्छ । यिनै सम्भावना र जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समितिले विहिवार केहि निर्णयहरु गरेको छ । विपदले वस्तीहरुलाई खतरा पुर्याउन सक्ने अवस्था आउन सक्ने सम्भावना भएकोले जनतको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. २ जलेश्वरले जोखिम पुर्ण स्थानहरुमा चिन्हित गरेको रातो,विग्ही,जंगहा र मरहा नदीबाट डुवान र कटानको कारणले क्षति हुन नदिन बन्चौरी,तिलगढ,रौजा बजार,परौल,गोनरपुरा,लेउरी,जलेश्वर वार्डन ं. ३ मलिवाडा,जुमनिया,हत्तिसर्वा,सिंग्याही,कविलासा,दोस्तिया,अलिपट्टी,वगडा,निगौल र सोनमा गाउपालिकाको वार्ड नं. १ को क्षेत्र तथा मटिहानी ९ को सिमरदही लगायतका स्थानहरुमा डुवान र कटानबाट क्षति हुन नदिन आपतकालिन कार्य गर्नका लागि आवश्यक पर्ने पर्याप्त सामग्रीहरुको व्यवस्था र भण्डारण गर्न निर्देशन दिएको छ । साथै थप आवश्यक्ता अनुसारको जोखिमयुक्त स्थानहरुमा च्यानलाईजेशन अस्थायी तटबन्ध लगायतका अत्यावसकिय आपतकालिन कार्यहरु गर्न जनताको तटबन्ध फिल्ड कार्यालय नं. २ महोत्तरी र जलश्रोत तथा सिचाई विकास डिभिजन महोत्तरीलाई निर्देशन दिएको हो ।
योसंगै जिल्लाका विभिन्न स्थानिय तह हुदै बग्ने प्रदेश सरकारको जिम्मेवारी क्षेत्रमा परेका जंघा नदीको रामगोपालपुर वडा नं. १ र ७, सम्सी गाउपालिकाको लक्ष्मििनिय को वडा नं. ३,ढुंग्रे खोला बर्दिवास, ओक्सी नदी,गढन्ता नदी,खयरमारा नदी बाट हुने डुवान र कटानबाट थप क्षति हुन नदिन वर्षातको समय आपतकालिन कार्य गर्नको लागि आवश्यक सामग्री खरिद तथा आपतकालिन रुपमा गर्नु पर्ने तटबन्ध निर्माण लगायतका अन्य अत्यावसकिय कार्य गर्नका लागि बजेट विनियोजन नभएकोले जलश्रोत तथा सिचाई विकास डिभिजन महोत्तरीलाइ रु सात करोड उपलब्ध गराउन भौतिक पुर्वाधार विकास मन्त्रालय,मधेश प्रदेशलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसका अलावा आपतकालिन उद्धारको लागि आवश्यक सामग्री सहित जिल्ला स्थित सुरक्षा निकायहरु तयारी अवस्थामा रह्ने ,बाढी आईहाले सुरक्षित स्थानसम्म स्थानियहरुलाई पुर्याउन पुर्व तयारी अवस्थामा रह्ने,मनसुन जन्य विपद पुर्व तयारी प्रतिकार्य योजना २०७९ बमोजिम कार्यन्वय गर्ने लगायतका निर्णयहरु गरेको छ ।