अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९÷८० को लागि बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्षमा देश सोहि बजेट अनुसार चल्ने हो । स्वास्थ्य,शिक्षा,रोजगार,भौतिक संरचना,कृषी तथा विभिन्न क्षेत्रलाई बजेटले समेटको छ । कर्मचारीको तलव वृद्धि देखि जेष्ठ नागरिकले पाउने भत्ताको उमेर हदमा कमि देखि विभिन्न ठुला ठुला आयोजनाहरु बजेटमा सम्बोधन गरिएकोमा यस वर्षको बजेटले महोत्तरीलाई समेत खासै प्रभावित गरेको छ । बजेटमा बुंदा नं. ७४,२००,२२४,२३२,२३४ र २९३ ले महोत्तरीलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
भारतले सितामढी जिल्ला अन्तर्गतको भिठामोडमा ड्राईपोर्ट निर्माणको लागि विगत केहि समय देखि प्रकृयाहरु थालेकोमा नेपाल तर्फ समेत जलेश्वरमा ड्राईपोर्ट (सुख्खा बन्दरगाह) निर्माणको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अगाडी बढाउने भएको छ । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटको बुंदा नं. ७४ मा कंचनपुरको चाँदनी दोधारा,डोल्पाको तीन्जे धो,मुस्तांगको कोरलासंगै महोत्तरीको जलेश्वरमा सुख्खा बन्दरगाहको निर्माणको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।
महोत्तरीमा ड्राईपोर्टको स्थापनाले यो क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने र आर्थिक रुपमै महोत्तरी समृत हुने स्थानियहरुले बताएका छन । मधेश प्रदेशको विरगंजमा मात्र हाल ड्राईपोर्ट रहेकोमा जलेश्वरमै समेत यस्को स्थापना हुदा तेस्रो मुलुकबाट समेत आयात निर्यातमा सहज हुने र देशको ठुलो व्यापारिक नाकाको रुपमा जलेश्वर स्थापित हुने जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनारले बताए । उनले जलेश्वरमा ड्राईपोर्टको परिकल्पना सुखद विकासको सुरुवात भएको थपे ।
यता भारतिय रेल्वे भारतको भिठामोडसम्म समेत विस्तार भैरहेकोमा महोत्तरीकै भिठामोड(मलिवारा) ,जलेश्वर हुदै जनकपुरसम्म नेपाली रेल्वेको विस्तारकै लागि समेत सम्भाव्यता अध्ययन गरिने भएको छ । हाल जनकपुर देखि कुर्थासम्म संचालनमा रहेको रेललाई दोस्रो चरणमा कुर्था देखि महोत्तरीको भंगहा र तेस्रो चरणमा भंगहा देखि बर्दिवाससम्म विस्तार गरिने भएकोमा महोत्तरीको नाकालाई समेत छुदै रेल विस्तार गर्न लाग्दा व्यापार प्रबद्र्धन देखि भारतको बनारस लगायतका विभिन्न स्थलहरुबाट आउने पर्यटकहरुको लागि समेत यसले सहज हुने र पर्यटन विकासमा समेत सहयोग पुग्ने मेयर सोनारको भनाई छ । उनले कुनै पनि सेवा विस्तार हुदा दिर्घकालिन रुपमा उक्त सेवा विस्तारले सम्बन्धित स्थलको सर्वपक्षिय विकासमा सहयोग पुग्ने बताए ।
त्यसतै महोत्तरीको मटिहानीमा रिक्रिएसन सेन्टरको स्थापना समेत गर्ने भनेर बजेट छुट्याइएको छ । विभिन्न देशमा हुने फन पार्क(जस्तैः डिस्नील्याण्ड) कै मोडेलमा हुने उक्त रिक्रिएसन सेन्टरमा सवै उमेरका मानिसले मनोरंजन देखि केहि समय थकान मेट्न सक्ने गरि उक्त सेन्टरको स्थापना हुने भएको छ । सेन्टर भित्र विभिन्न खेल सामग्री देखि स्विमिंग पुल,गार्डेन लगायतका व्यवस्था हुने छ । यसको लागि स्थानिय तह र निजी क्षेत्रको सहकार्यमा उक्त अत्याधुनिक रिक्रिएसन सेन्टरको स्थापना गरिने छ ।
यता जलेश्वर बर्दिवास सडकलाइ स्तोरन्नती गर्ने समेत आगामी बजेटको तयारी रहेको छ । बंदा नं. २२४ मा पुर्व पश्चिम राजमार्गबाट झापा,सप्तरी,महोत्तरी,सर्लाही,रौतहट,वारा,पश्चिम नवलपरासी,कपिलवस्तु र बर्दियाको सदरमुकाम जोड्ने सडकहरुालाई स्तोरन्नती गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरि निर्माण कार्य प्रारम्भ गरिने बताइएकोमा सोहि योजना अन्तर्गत बर्दिवास जलेश्वर सडक ६ लेनको बन्ने छ ।
त्यसतै तराई मधेशका सिमामा अवस्थित शहरी क्षेत्रलाई आर्थिक गतिविधीको केन्द्रका रुपमा विकास गर्न सिमा क्षेत्र शहरी विकास कार्यक्रम अन्तर्गत विकास गरिने भएको छ । उक्त कार्यक्रम जलेश्वरमा समेत लागु हुने भएको छ । सो वाहेक युथ स्पोर्ट सेन्टर,धर्मशाला र मन्दिर निर्माण देखि मुसरपटटी जलेश्वर सडकको विस्तार समेतको कार्यक्रम उक्त बजेटमा समावेश गरिएको छ । यसका अलावा वर्षेनी वाढीले महोत्तरीको उत्तर देखि दक्षिण भेगमा पुर्याउदै आएको क्षतिको जोखिम न्युनिकरण गर्न तटबन्ध निर्माण देखि सडक र सिंचाईका अन्य विभिन्न कार्याक्रमहरुलाई निरन्तरता दिइएको छ ।