रञ्जन भण्डारी
महोत्तरी,१३ वैशाख ।
संयोगले ममता एउटी पात्र भैदिईन । पात्र जो राजनीति सिक्दै छिन । आफ्नै दलका जेष्ठ नेता तथा नेतृहरुको छलकपट र प्रपन्चबाट सिक्दै ,राजनीति बुझ्दै छिन ममता । यतिले उनलाई चिन्न सक्नु हुन्न । यहा ममतालाई चिनाउने प्रयास गर्दै छु ।
शान्त,सरल र सभ्य संस्कार भएकि भरखर राजनीति सिक्दै गरेकि विद्यार्थी हुन ममता महतो । बल्वा नगरपालिका घर भएकि ममता जलेश्वर स्थित राविम क्याम्पस पढ्दै गर्दा नेविसंघ मार्फत विद्यार्थी राजनीतिमा होमिएकी हुन । नेविसंघको राजनीतिमा क्याम्पस लेभलबाट कखरा सिक्न सुरु गरेकि उनी नेविसंघकै केन्द्रिय सदस्य समेत भईन । यहासम्म पुग्न ममतालाई खासै वाधा अवरोधको सामना भने गर्नु परेन ।
केन्द्रिय सदस्य बनिसकेपछि बल्ला राजनीति वारे बुझ्न थालेकि ममता नेपाली काँग्रेसको मुल पार्टीमै आईन र आफ्नो राजनीतिक यात्रा थप अगाडी वढाईन । उनले आफ्नो राजनीतिमा पहुच र पार्टी भित्र बनाएको सम्मानित छविकै कारण पार्टीले उनलाई स्थानिय तहको चुनावमा बल्वा नगरपालिकाको उपमेयरको लागि तयारी गर्न निर्देशन दियो । उनको टिकट समेत कन्फर्म गरियो ।
टिकट कन्फर्मसंगै आउन लागेको बधाईको ओईरो ठुलै थियो । हरेक वर्ग र क्षेत्र तथा उनलाई चिन्ने सवैले बधाई दिन थालिसकेको थियो । पार्टीले नै माथिबाट टिकट कन्फर्म गरेपछि ढुुक्क भएकि ममताले ठुलै मुक्की खानु परेको छ । माथिबाट ममताको लागि पठाएको टिकट अन्यत्र नै दिईयो र उनलाई राजनीतिको वर्तमान स्वरुप चिन्ने अवसर प्रदान गर्यो ।
महोत्तरीको बलवा नगरपालिकाको उपमेयरको टिकट ममताले पाउने निश्चित भइसकेपछि प्रत्यक्ष भेटेर र सामाजिक सञ्जालमा सबैले दुई दिनअघि नै बधाइ दिएका थिए ।
कांग्रेसका नेता–कार्यकर्तालेमात्रै होइन अरू पार्टीका समर्थकरूबाट पनि ममतालाई बधाइ आइरहेको थियो । जिल्लाकार्य समितिबाट सर्वसम्मतले आफ्नो नाम सिफारिस हुँदा ममता पनि ढुक्क थिइन्, उपमेयरको टिकट पाउनेमा ।
प्रदेश समिति सदसीय बोर्ड र महोत्तरीबाट प्रतिनिधित्व गर्ने चारजना केन्द्रीय सदस्यहरू महेन्द्र राय, मन्जु यादव, नगिना यादव र कल्याण गुरूङबीच पनि ममतालाई नै टिकट दिनुपर्नेमा सर्वसहमति भएको थियो ।
प्रदेश सभापति कृष्ण यादवले सोमबार बिहान ७ बजे जनकपुरस्थित प्रदेश कार्यालयमा बोलाएर जिल्लाका सभापति नागेश्वर यादवलाई बोलाइ उपमेयर ममतालाई दिनुपर्छ भनेर हस्ताक्षर गरेको खाली टिकट थमाए ।
‘अघिल्लो चुनावमा पनि उसँग अन्याय भएको छ, यसपटक जसरी पनि ममताले नै टिकट पाउनुपर्छ,’ सभापति कृष्णको भनाइ उद्धृत गर्दै ममताले भनिन् । त्यतिबेला जिल्ला सभापति नागेश्वरले पनि निष्पक्ष रूपमै टिकट दिने प्रतिवद्धता जनाए ।
यति भइसकेपछि आफूले टिकट पाउनेमा ममता ढुक्क थिइन् । तर, सोमबार मनोनयन दर्ता गर्नुअघि ममताले थाहा पाइन–टिकट खोसिएको रहेछ ।
जिल्ला सभापति नागेश्वरले टिकट बुझिसकेपछि प्रदेश कार्यालयमा सँगै रहेकी ममतालाई टिकट नदिएर महोत्तरीकै लोहारपट्टी नगरपालिकाका निवर्तमान मेयर शैलेन्द्र यादवको जनकपुरस्थित घरमा दिने कुरा भयो ।
ममताकाअनुसार लोहारपट्टीका निवर्तमान मेयर शैलेन्द्रको घरमा पूर्वकेन्द्रीय सदस्य किरण यादवको निगरानीमा टिकट दिने कुरा भएको थियो ।
मेयरको टिकट विनोद यादवले पाए । तर, पक्का भइसकेको ममताको उपमेयरको टिकट अरूलाई दिइयो । पक्का भइसकेको उनको टिकट नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य किरणले आफ्नो जोडबलमा खोसिदिएको ममताको आरोप छ ।
राजनीतिक प्रतिशोध साध्न किरणले आफ्नो टिकट जबरजस्ती खोसिदिएको उनी बताउँछिन् । टिकट किन खोसियो भनेर सोधखोज गर्न नेतृ किरणको घर पुगिन्, उनी ।
‘मेरो टिकट किन खोस्नुभयो भनेर सोध्न म किरणज्यूको घरमा गएँ,’ उनी भन्छिन्, ‘उहाँले तिम्रो पावर चल्यो नाम सिफारिस गरायौ । मेरो पावर चल्यो मैले खोसिदिएँ । जे गर्नुछ गर भनेर जवाफ दिनुभयो ।’
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुरा भएको थियो । तर, त्यतिबेला पनि नेतृ किरणकै जोडबलमा रामदुलारी ठाकुरलाई टिकट दिइएको थियो ।
अघिल्लो चुनावमा पराजित भएकी उनै ठाकुरलाई यसपटक पनि टिकट दिइएको छ । बलवा नगरपालिकामा राणा शासनभन्दा पनि ठूलो शासनले जन्म लिएको ममताले बताइन् ।
‘राणा शासनभन्दा पनि ठूलो शासन जन्मिएको छ, यो नियोजित षडयन्त्रले कुनै व्यक्तिको स्वार्थ त पूरा होला, तर नेपाली कांग्रेसको मूल्यमान्यता र विचारलाई कुल्चेर राणा शासनको शैलीमा जानु राम्रो होइन,’ उनले भनिन् ।
कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा प्रवेश गरेकी ममता नैनसिंह महर अध्यक्ष छँदा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
आफ्नो सक्रियता देखेर विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरूले राजनीतिमा आउन प्रोत्साहित गरेको उनी सम्झिन्छिन् ।केही दिनअघि सम्पन्न कांग्रेसको महोत्तरी जिल्ला अधिवेशनमा ममता पार्टीको जिल्ला सदस्यमासमेत निर्वाचित भइन् ।
सँधै कांग्रेसमा आवद्ध भएर राजनीति गरेर पनि व्यक्तिगत प्रतिसोधका कारण टिकट काटिएपछि ममताले सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्, ‘म महतो भएकै कारण बलवा नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरको टिकट सर्वसम्मत मेरो नाममा हुँदा पनि अर्कैको उम्मेवारी गराएको हो कि?’
नोट ः ममताले सामजिक संजालमा लेखेको स्टाटसको आधारमा