राकेश प्रसाद चौधरी
काठमाण्डौ, ९ बैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाटेड्रोस अधानोम गेब्रेयससलाई स्वास्थ्य क्षेत्र सुधारका लागि बहुपक्षीय साझेदारीमा जोड दिएकी छिन् ।
दुई दिने भ्रमणको क्रममा महानिर्देशक गेब्रेयसस र दक्षिण–पूर्वी एशिया क्षेत्रका लागि क्षेत्रिय निर्देशक डा. पूनम खेत्रपाल सिंहले राष्ट्रपतिसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । भेटघाटमा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न, पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्न तथा एचपिभि खोप लगाउन सहयोग गर्नका लागि आग्रह गरेका छन् । उनले कोभिड१९ महामारी प्रतिकार्यमा लिएको नेतृत्वका लागि विश्व स्वास्थ्य संगठनको टोलीलाई धन्यवाद समेत दिएका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आइपुगेको महानिर्देशकसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित एक विद्यालयमा संचालित टाइफाइड कन्जुगेट खोप अभियान एवं स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको जिनोमसिक्वेन्सिङ्ग प्रयोगशालाको अवलोकन गरेका थिए । प्रयोगशालाकै मद्दतले ओमिक्रोन भेरियन्टको पहिलो केस पत्ता लगाइएको थियो ।
गाभी खोप संजाल, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा अप्रिल ७ बाट शुरु भएको खोप अभियानले १५ महिनादेखि १५ बर्षसम्मका ७५ लाख बालबालिकालाई टाइफाइड कन्जुगेट खोप पु¥याउने लक्ष्य राखेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रेयससले स्वास्थ्यलाई आधारभूत मानवअधिकारको रुपमा नेपालको संविधानमै उल्लेख गरेको तथा स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय बजेटमा प्राथमिकताका साथ राखेकोमा बधाई दिए ।
प्रतिनिधिमण्डलको साथमा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डव र देशिय रणनीति तथा सहयोग विभागका निर्देशक डा. शम्भु आचार्य समेत ुहभागी थिए ।