सञ्चार समाचारदाता
महोत्तरी,२ वैशाख ।
वैशाख ३० मा हुने स्थानीय निर्वाचनकोलागि सत्तासाझेदार दल जसपा सकसमा देखिन्छ । महोत्तरीका केही पालिका बाहेक अधिकांश ठाउँमा उम्मेदवारका आकांक्षीहरु धेरै देखिएकोले उम्मेदवार छान्न जसपालाई हम्मेहम्मे परेको देखिन्छ । चुनावको मुखमा आएर जसपा महोत्तरीको नेतृत्वमा गरिएको परिपवर्तनले कतिठाउँमा झन अन्यौलता बढाएको छ ।
महोत्तरीको एकडारा गाउँ पालिकामा मात्रै जसपाका नौ जना नेता÷कार्यकर्ताले अन्तिम सम्म आफूलाई गाउँ पालिका अध्यक्षको उम्मेदवारको सूचीमा उभ्याएका छन् । जसपा एकडारा गाउँ पालिका एकाई समितिको पालिका पार्टी कार्यालय, एकडारामा बसेको बैठकमा १० जनाले पालिका अध्यक्षको टिकटको दावेदारी गरेका थिए भने जलेश्वरमा उम्मेदवारका आकांक्षीहरुको भेलामा दश जना मध्ये नौ जना उपस्थित भएको र कसैले आफ्नो नाम फिर्ता नलिएको श्रोतले जनाएको छ ।
एकडारा गाउँ पालिकामा जनता समाजवादी पार्टीबाट उम्मेदवारको दावेदारहरुमा पछिल्लो चुनावमा तात्कालिक संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका दीप नारायण मण्डल, पछिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रहेका वर्तमान जसपा महोत्तरीका सचिव महेश कुमार यादव, पछिल्लो निर्वाचनमा दलित जनजाती पार्टीबाट पालिका अध्यक्षका उम्मेदवार रहेका विनोद पासमान, पूर्व जिल्ला अध्यक्ष राम नरेश राय, जिल्ला समन्वय समिति महोत्तरीका उपसंयोजक सुरेश यादव,श्याम कुमार यादव, नविन कुमार यादव, ज्ञानेन्द्र कुमार यादव र पछिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट गाउँ पालिकाका उपाध्यक्षका उम्मेदवार रहेकी निर्मला यादव रहेका छन् ।
अर्का अध्यक्षका आकांक्षी सन्तोष कुमार यादव भने जलेश्वरमा उपस्थित नरहेकोले उनको नाम हटाइएको वा राखिएको टुंगो लागेको छैन ।
पुरानो र निकटतम प्रतिद्वन्द्वी रहेका दीप नारायण मण्डललाई कतिपयले स्वाभिव उम्मेदवारको रुपमा हेरिरहेका छन् भने जसपा महोत्तरीका सचिव समेत रहेका पछिल्लो चुनावमा माओवादी केन्द्रका गाउँ पालिका अध्यक्षका उम्मेदवार, महेश कुमार यादव जसपाको संगठन एकडारा पालिकामा बलियो भएकोले पार्टीले सर्वसम्मतिले उम्मेदवार दिनेहो भने चुनाव शतप्रतिशत जित्ने दावी गर्छन् । पछिल्लो चुनावमा आफूले ल्याएको पोपुलर मतको आधारमा उनी आफ्नो उम्मेदवारी बलियो रहेको बताउँछन् ।
दावेदारहरु मध्ये पूर्व जिल्ला अध्यक्ष राम नरेश यादवको श्रीमति प्रदेश सभाको समानुपातिकबाट प्रदेश सभा सदस्य भईसकेको र अर्का उम्मेदवारका आकांक्षी सुरेश यादव जिल्ला समन्वय समितिको उपसंयोजक बनाइएकोले उनीहरुको दावेदारी त्यति बलियो नरहेको चर्चा पनि नचलेको होइन । एउटै व्यक्ति वा एउटै पारिवारलाई पटक पटक मौका दिइनु न्याय संगत नहुने एकटा उम्मेदवारका आकांक्षीले बताए । विनोद यादव एकडारा उच्च मा वि को व्यवस्थापन समितिका अध्यक्ष छन् भने नविन कुमार यादव हल्खोरी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छन् ।
विभिन्न पालिकामा एकभन्दा बढी उम्मेदवार देखिएकोले जसपामा उम्मेदवार टुँगो लगाउन सकस त छँदैछ, गठबन्धनले उम्मेदवारको छनौटमा झन जटिलता ल्याएको जसपाको एक नेताले महोत्तरी सञ्चारलाई बताए । एकडारा गाउँ पालिकामा एकडारा, बेला, अजमरपट्टी, भटौलिया, पर्सा, चकवा, हलखोरी, भंगहिया, कोल्हुआ,बगिया,बहेडा,गेना बथनाहा गाउँ रहेको छ भने ६ वडामा विभाजित छ ।